प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफ्ना अध्यक्षले भाटभटेनीबाट रक्सी चोर्ने सत्तारूढ दलको सहमहामन्त्रीको छोरा भने पनि नाम नलिएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै आफ्ना पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ती सहमहामन्त्री र उनका छोराको नाम नलिएको बताएका हुन्।
'सत्तारूढ दलका सहमहामन्त्रीका छोराले भाटभटेनीमा रक्सी चोरे भन्नुभयो। तर कसले चोर्यो भन्नुभएको छैन। चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा लुकाउँथ्यो रे, आज संसदमा त्यही भयो,' उनले भने।
शाहीले क-कसले चोरेको हो भन्ने विषयमा यसअघि स्वतन्त्र सांसद अमेरशकुमार सिंहले पहिल्यै संसदम भनेको पनि बताए।
'स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ८ गते नै क-कसले त्यसमा चोरेको हो भन्नुभएको छ। त्यो अडिओ भिडिओ हेरे हुन्छ। त्यसपछि संसदमा कुरा राख्नु,' उनले भने।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा अध्यक्ष लिङ्देनले चैत १५ गते भाटभटेनीमा भएको लुटपाटमा सत्तापक्ष दलकै सहमहामन्त्रीका छोराले रक्सी चोरेको र पछि सत्तापक्ष दलका नेताको छोरा भएका कारण प्रहरीले छाडेको आरोप लगाएका थिए।
उनले आधारहीन आरोप लगाएको भन्दै कांग्रेसले लिङ्देनको उक्त भनाइलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ। त्यस्तै कांंग्रेसले कुन सहमहामन्त्रीको छोरा हो यकिन गर्न पनि कांग्रेसले माग गरेको छ।
सांसद शाहीले तीनकुने घटनामा न्यायिक छानबिन समिति गर्न पनि माग गरे।
'पोखरामा बेलुन पड्किँदा छानबिन गर्ने तीनकुनेमा दिउँसो नागरिकलाई गोली हानेर मार्दा न्यायिक छानबिन समिति गठन गर्न सरकार किन थुर्थुर काँपेको छ? हामी न्यायिक छानबिन समिति गठन गरोस् भनेर माग गर्छौं,' उनले भने।
यो पनिः
लिङ्देनलाई लक्ष्य गर्दै कांग्रेसले भन्यो- कुन सहमहामन्त्रीको छोराले भाटभटेनीको रक्सी बोत्तल बोकेर हिँड्नुभयो प्रमाणित गर्नु
भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोरा पक्राउ परेका थिए, तुरून्तै छाडिएको थियो: राजेन्द्र लिङ्देन