बिहीबार प्रधानमन्त्री सहित तीन प्रमुख दलका तीन नेताहरूले तीन ठाउँमा बोलेका कुराले केपी शर्मा ओली सरकारको निरन्तरताबारे आशंका बढाउने काम गरेको छ।
संसदका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गणितीय हिसाबले बलियो सरकारको आयुका बारेमा केही समयदेखि अड्कलबाजी चल्दै आएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केही समय अघिदेखि नै यो सरकारको आयु धेरै नभएको भन्दै आएका छन्।
उनले गएको साता अब सरकारको नेतृत्व लिने पहल कांग्रेसले गर्नुपर्ने र त्यसमा उनको दलको साथ रहने बताएका थिए।
कांग्रेस नेताहरू, विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि केही समयदेखि वर्तमान सरकारको काम गर्ने शैलीको आलोचना गर्दै आएका छन्। तर उनीहरूले कांग्रेसले सरकार छाड्ने नभएर यो सरकार सुधार्नुपर्ने कुरामा जोड दिने गरेका छन्।
प्रधानमन्त्री ओलीले यो सरकार नढल्ने जिकिर सार्वजनिक रूपमा बारम्बार दोहोर्याउँदै आएका थिए। कांग्रेस–एमाले सहमति अनुसार आउने असारमा आफ्नो पालो सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पनि उनले कैयन पटक बताउँदै आएका थिए।
बिहीबार भने प्रधानमन्त्री ओली, कांग्रेस महामन्त्री थापा र माओवादी अध्यक्ष प्रचण्डले जे कुरा बोले, तिनले यो सरकारको निरन्तरतामा शंका गर्ने ठाउँ बढाएको छ।
राजनीतिक यथार्थ त्यस्तो नहुन पनि सक्छ, त्यस्तो आशंका जायज नहुन पनि सक्छ र मुख्यगरी प्रधानमन्त्री ओलीले त्यसतर्फ संकेत नगरेको हुन पनि सक्छ। तर तीन नेताले बिहीबार जे बोलेका छन्, त्यसले शंका गर्ने प्रशस्त ठाउँ दिएको छ।
सुरू गरौं, माओवादी केन्द्र अध्यक्ष प्रचण्डका कुराबाट।
प्रचण्डले सत्ताघटक कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि आफूलाई फोन गरेको कुरा पार्टी संसदीय दल बैठकमा बिहीबार ब्रिफिङ गरेका छन्।
माओवादी संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बिहीबार बसेको थियो। उक्त बैठकमा प्रचण्डले देउवाले थाइल्यान्डको बैंकक प्रस्थान गर्नुअघि आफूलाई फोन गरेको बताएका हुन्।
'यो सरकार रहने देखिँदैन। हामी अहिले सरकारमा जाने भनेको पनि छैन। ओलीजी प्रधानमन्त्री रहुन्जेल यो व्यवस्थालाई खतरा नै रहन्छ। शेरबहादुरजी बाहिर हुनुहुन्छ। उहाँले बैंकक जाने बेला मलाई फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गर्दै शुभयात्रा भनेको थिएँ,' प्रचण्डका भनाइ उद्धृत गर्दै माओवादीका एक सांसदले भने, 'हामी हतारिएर सरकारमा जाने बेला भएको छैन।'
केही हप्तादेखि यो सरकारको आयु सकियो भन्दै आएका प्रचण्डले कांग्रेस सभापतिसँग आफ्नो संवाद पनि भएको कुरा पहिलो पटक संसदीय दलको बैठकमा बताएका हुन्। उनले धेरै कुरा प्रस्ट नभने पनि देउवासँगको आफ्नो फोन वार्तालाई यो सरकारको आयु सकिएको अर्थ लाग्ने गरी बैठकमा प्रस्तुत थिए।
प्रचण्डको ब्रिफिङ- बैंकक जानुअघि देउवाले मलाई फोन गर्नुभएको थियो
प्रचण्डको भनाइ सार्वजनिक भएको केही घण्टापछि कांग्रेस महामन्त्री थापाले बिहीबार एउटा सार्वजनिक कार्यक्रममै बोलेको एउटा कुराले पनि चर्चा पाएको छ। त्यसलाई पनि मानिसहरूले ओली सरकारको आयुसँग जोडेर आ–आफ्ना व्याख्या गरेका छन्।
लोकतन्त्र दिवसमा काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, 'आधारभूत कुरामा हामी सम्झौता गर्दैनौं भनेर हामीले भन्न सक्नुपर्छ। पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं। सरकारमा बस्ने वा नबस्ने, सरकार नै ठूलो कुरा थियो भने त ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा हामी गएनौं त। महेन्द्र वा वीरेन्द्रले पनि सरकार बनाउँदै गर्दा हाम्रा नेताहरू जानुभएको थिएन।'
महामन्त्री थापाले नेपाली समाजलाई कांग्रेसले सम्हाल्नुपर्ने तर्क गरे।
'हामी उत्तेजनामा आएर पनि हुँदैन। हामीले भड्काउवादी कुरा गरेर पनि हुँदैन। नैराश्यताको कथा भनेर पनि हुँदैन, भागेर पनि हुँदैन,' थापाले भने, 'हामीले सामना गर्नुपर्छ, हामीले संवाद गर्नुपर्छ, हामीले भरोसा दिलाउनुपर्छ, हामीले समाधान दिनुपर्छ।'
थापाले सरकार जोगाउने वा सम्हाल्ने भन्दा समाज सम्हाल्ने कुरा ठूलो भएकोमा जोड दिएका छन्। उनले सरकार जोगाउने कुराबाट कांग्रेस अघि बढेको संकेत गर्न खोजेको कतिपय कांग्रेसका नेताले अर्थ्याएका छन्।
त्यसपछि प्रधानमन्त्री ओलीले एमालेका युवाहरूले बिहीबार आयोजना गरेको एउटा कार्यक्रममा बोलेको कुराले यो सरकारको आयुबारेका आशंका थप बाक्लो बनाउने काम गरेको छ।
यसअघि प्रायः सधैं सरकार केही हुन्न भन्दै आएका प्रधानमन्त्रीले ओलीले सरकार बनाऊ, सरकार बचाऊ भन्दै एमाले नहिँडेको र नेता–कार्यकर्ताले मिसन २०८४ मा ध्यान दिनुपर्ने बताए।
पार्टीले काठमाडौंमा आयोजना गरेको 'युथ सेलिब्रेसन' मा बोल्दै उनले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले 'विदेशका दलाल तत्वहरू' एमाले विरूद्ध खनिएको दाबी गरे। उनले आफ्नो नेतृत्वमा कांग्रेस–एमालेको सरकार बनेपछि सम्भवतः पहिलो पटक 'विदेशका दलाल तत्वहरू' एमाले विरूद्ध लगाएको आरोप लगाएका हुन्।
'बिना संकल्प बिना सक्रिय प्रयास हामी अगाडि जान सक्दैनौं। यसकारण म युवाहरूलाई कुनै भ्रममा नपर्न आग्रह गर्छु। हामीले राष्ट्रियताको स्पष्ट अडान लिएका हुनाले विदेशका दलाल तत्वहरू नेकपा एमाले विरूद्ध खनिएका हुन्,' ओलीले भने, 'यतिकै होइन, हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले, जनपक्षीयताको कारणले, लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन्। दिनैपिच्छे अनेक प्रकार भ्रम फिँजाउन खोजिरहेका छन्।'
प्रधानमन्त्री ओलीले उनको सरकार एमाले र कांग्रेसको एउटा संकल्पसहित बनेको कुरा बिहीबार पनि दोहोर्याए।
तर सँगसँगै उनले भने, 'एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन। एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले २०७० को चुनाव भन्यौं। २०७४ को चुनाव भन्यौं। २०७९ को चुनाव भन्यौं। र अब २०८४ को चुनाव भनिरहेका छौं। ढुक्कले मिसन २०८४ मा लाग्नुस्।'
यी तीन नेताले फरक फरक ठाउँमा बिहीबार बोलेका कुरामा कुनै 'कनेक्सन' नहुन पनि सक्छ।
तर यसले दल बाहिरका मानिसहरूलाई त शंका हुने नै भयो — स्वयं दलकै नेता-कार्यकर्ताहरूलाई समेत सरकारको निरन्तरताबारे शंका पैदा गरेको छ।