२०६२ सालको उराठलाग्दो चैत। काठमाडौंमा जिन्दावाद र मुर्दावादका गगनभेदी नारा लागिरहेका थिए।
जिन्दावाद र मुर्दावादको उच्चाटलाग्दो जोर मुठ्ठी उचाल्दा उचाल्दा थाकेकाहरू सांगीतिक विश्राम लिन खोज्थे। र, माहोल तताउन अघि सरिहाल्थे लोक गायकको छवि बनाएका बद्रि पंगेनी।
त्यसपछि मञ्चमा क्रमशः देखा पर्थे, जेबी टुहुरे, माधव प्रधान, रामेश–रायन, मधु गुरूङहरू।
१९ दिन लामो सडक संघर्षपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठमा विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गरे। वैशाख ११ गतेको त्यही दिनलाई लोकतन्त्रको अभ्युदय भएको दिन मानियो। लोकतन्त्र दिवसको रूपमा रहन गयो।
लोकतन्त्र प्राप्तिपछि पनि लोकगायक पंगेनी राजनीतिक मञ्चहरूबाट ओझेल परेनन्। गीतमार्फत तत्कालीन नेतृत्वलाई खबरदारी गरिरहे। लोकतन्त्र पक्षधरहरूमा ऊर्जा भरी नै रहे।
'माधव नेपाल, गिरिजा, प्रचण्ड, बाबुराम...,विश्राम लिन नखोज सकिएको छैन काम..' भन्दै।
१९ वर्षपछि, त्यही लोकतन्त्र प्राप्त गरेको दिन एमालेले उनै लोक गायक बद्रि पंगेनीकी छोरी बिहानी पंगेनीलाई मञ्चमा उतार्यो। त्यसो त बिहानी एमालेका मञ्चमा बालखैदेखि देखा पर्थिन्। यदाकदा बुबाको गीतमा 'कोरस' भर्ने उनी बिहीबार भने एमालेको 'युथ सेलिब्रेसन' को मुख्य प्रस्तोता नै बनिन्।
गत वर्ष जेठ १ गते एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी महोत्सवको पनि उनी मुख्य प्रस्तोता थिइन्। तथापि एमालेको ठूलो मञ्चमा आफूलाई प्रस्तुत गरेको उनले यो नै पहिलो पटक हो।
एमाले महासचिव पोखरेलले युथ सेलिब्रेसनलाई पुरानो र नयाँ पुस्ता जोड्ने कडीको उपमा दिएका थिए।
एमाले आन्दोलनको हर्ताकर्ता पहिलो पुस्ता नै छन्। त्यसैले एमालेको मञ्च ओगट्ने पहिलो पुस्ता नै हुन्छन्। दोस्रो र तेस्रो पुस्ताले मञ्चको पहिलो लहर पाउन मुस्किल हुने एमालेमा कान्छो पुस्तालाई मञ्चको सारथि बनाइएको विरलै देख्न पाइन्छ।
बिहीबार फरक दृश्य देखियो।
महासचिव पोखरेलले भनेझैं एमालेको पुरानो र नयाँ पुस्ताबीचको सेतु बनेकी बिहानी बाबु सामेल भएर ल्याएको लोकतन्त्रको सेलिब्रेसनको सञ्चालकसमेत बनिन्।
एमालेले बिहीबारको युथ सेलिब्रेसनलाई लोकतन्त्रको पुस्तान्तरण समेत भनेको छ। लोकतन्त्रको संघर्षमा जो तन्नेरी थिए र सडकमा युवा जोस निकालेका थिए, उनीहरू आज प्रौढ पथमा छन्।
एमालेको कान्छो पुस्तालाई लोकतन्त्रको मर्म, महत्त्व र उपादेयता बुझाउन एमालेले युथ सेलिब्रेसनको सहारा लिएको हो। राजनीतिक दल र तिनको नेतृत्वप्रति वितृष्णा बढिरहेका बेला र सार्वजनिक कार्यक्रमहरूमा 'मुर्दावाद' सामना गर्नुपरिरहेका बेला 'जिन्दावाद' भन्ने मानिसहरू पनि छन् भन्ने देखाउन पनि युथ सेलिब्रेसन एउटा माध्यम बन्यो।
-1745505679.jpg)
-1745505678.jpg)
यति मात्र होइन, पछिल्लो समय राजावादीहरूको सक्रियता बढेको छ। गत फागुन २५ गते पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म उपस्थित भएका समर्थक र शुभेच्छुकहरूको भीड देखेर उत्साहित राजावादी चैत १५ को तीनकुने विध्वंशपछि हच्किएका छन्। अहिले सुषुप्त देखिएका राजावादी पुनः जुर्मुराउन सक्ने भय बोकेको एमालेले त्यसलाई काउन्टर दिन पनि भृकुटीमण्डपमा युवा उतारेको हो।
महासचिव शंकर पोखरेलले भने, 'हाम्रो पार्टीको मान्यता छ, राजनीतिक आन्दोलन तीन पुस्ताको संयोजनबाट गतिशील ढंगले अगाडि बढ्ने गर्छ। हामी सबैलाई थाहा हुनुपर्छ, हाम्रो हजुरबाजेहरूको पुस्ताले १०४ वर्षे जहानीयाँ राणा शासन अन्त्य गर्न संघर्ष गरे। त्यसमा सफलता हासिल गरे। हाम्रो बाबाहरूको पुस्ताले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि अहोरात्र संघर्ष गरे। सफलता हासिल गरे। हाम्रो पुस्ताले यो मुलुकलाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा पुर्याउने एउटा ऐतिहासिक अभिभारा पूरा गर्यौं। त्यस कारण आज मुलुको विकास र समृद्धिको आधारशीला तयार भएको छ। अब युवाहरूको काँधमा समृद्ध राष्ट्र बनाउने जिम्मेवारी आएको छ।'
विकास र समृद्धिको आधारशीला तयार भइरहँदा मुलुकमा निराशा छर्ने, अस्थिरता निम्त्याउने प्रयत्न भइरहेको बताउँदै त्यसैलाई चिर्न र युवामा आशा जगाउन युथ सेलिब्रेसन आयोजना गरेको महासचिव पोखरेलको दाबी थियो।
महासचिव पोखरेलले यसो भनेर कार्यक्रमको औचित्य पुष्टि गर्न खोजे पनि बिहीबार एमालेले शक्ति प्रदर्शन गर्न खोजेको थियो। साथै युवामाझ पार्टीको आकर्षण क्षीण बनिसकेको छैन भनेर देखाउन खोजेको थियो।
यहाँ हामीले एमालेले युथ सेलिब्रेसनका चार दृश्यबारे चर्चा गरेका छौं।
४० वर्षमुनिकै युवाको कम सहभागिता
६० को दशकसम्म युवा–विद्यार्थीमा एमालेको राम्रै पकड थियो। अनेरास्ववियु र युवा संघलाई पार्टी–संगठनको नर्सरीको रूपमा उपयोग गरेको थियो।
विद्यालय, कलेज तहका कमिटीबाट पार्टीमा युवा–विद्यार्थी आउँथे। त्यसरी आएकाहरू अहिले पार्टीको नेतृत्व तहमै छन्। सांसद, मन्त्रीको जिम्मेवारीमा पनि पुगिसकेका छन्।
७० को दशकपछि भने अनेरास्ववियु, युवा संघ लगायत संगठनप्रतिको आकर्षण कमजोर देखिएको छ। गत स्ववियु निर्वाचनमा एमाले अखिलले ठूला क्याम्पसमा जीत हासिल गर्न सकेन। कतिपय ठाउँमा आफ्नै विरासत समेत गुमायो। र, समग्र जितमा दोस्रो हुन पुग्यो।
कतिपय कलेजहरू अनेरास्ववियुका कमिटीविहीन छन्।
त्यसैले पार्टी युवा खोज्नुपर्ने अवस्थामा पुगेको एमालेका नेता बताउँछन्।
एमालेले गत वर्षदेखि नीति नै बनाएर पार्टीमा युवा सहभागिता बढाउन खोजेको छ। वडा र पालिका तहका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य राख्नुपर्ने नीति बनाएको छ। जिल्लामा १५ प्रतिशत र प्रदेश तहका कमिटीमा १० प्रतिशत ४० वर्षमुनिका युवा राख्नैपर्ने एमालेले विधि तयार पारेको छ।
दुर्गममा त यो संख्या पुगेको छैन नै, सहरी क्षेत्रमा नै कोटा पूरा भएको छैन। काठमाडौं जिल्ला कमिटीमा ४७ जना युवाको कोटामध्ये ४१ जनाको मात्रै उम्मेदवारी परेको थियो। निर्वाचित भएकामध्ये पनि कतिपय निष्क्रिय बनिसकेका छन्।
अहिले एमालेले संगठित सदस्यमध्ये ६ प्रतिशत युवा हुनुपर्ने मान्यता राखेको छ। त्यसैले नयाँ सदस्यता दिँदा र सदस्यता नवीकरण गर्दा ६ प्रतिशत पुर्याउन निर्देशन दिएको छ।
तर सहरी क्षेत्रमा औसत तीन प्रतिशतको आँकडा मात्रै भेटेको छ। ग्रामीण भेगमा त दुई प्रतिशत हाराहारी मात्रै छन्।
त्यसैले एमालेले पार्टीमा युवा आकर्षण बढाउन युथ सेलिब्रेसन आयोजना गरेको हो। कार्यक्रमका लागि एमालेले एक महिनादेखि तयारी गरेको थियो। पार्टी महासचिव शंकर पोखरेलले आफैले अगुवाइ गरेर वक्ताको क्लस्टर तयार पार्नेदेखि सहभागिता बढाउनेसम्मको नेतृत्व लिएका थिए। बुधबार वक्ताहरूलाई रिहर्सलसमेत गराए।
एमालेले देशभरिका पार्टी कमिटीमा आबद्ध ४० वर्षमुनिका युवा काठमाडौं उतार्न सर्कुलर नै पठाएर निर्देशन दिएका थिए। तर, कार्यक्रममा ४० वर्षमुनिका युवाको कम सहभागिता देखिएको सहभागीले बताए।
'गाउँमा त्यसै युवा कम्ती छन्। त्यसमाथि पार्टी कमिटीमा नै कम छन्,' हेटौंडाबाट कार्यक्रममा आएका रामबहादुर मोक्तानले भने, 'हाम्रो पालिका कमिटीबाट एक गाडी मानिस आएका छौं। त्यसमध्ये चार–पाँच जना मात्रै युवा छन्।'
सिराहा, सुखीपुरकी रामराज यादवले पनि देहातबाट युवालाई ल्याउन नसकेको बताइन्। १० वर्षदेखि पार्टी सदस्य रहेकी उनी वडा कमिटीमा पनि छिन्। उनको वडा कमिटीमा पनि युवाको संख्या न्यून छ।
-1745505679.jpg)
'पार्टीले युवा ल्याउन भनेको थियो। हामीले त महिला नै महिला ल्यायौं। महिलाहरू भर्खरभर्खर राजनीतिमा आउन थाल्नुभएको छ। उहाँहरूले चासो देखाउनुभयो,' उनले भनिन्।
यी दुई बाहेक हामीले कार्यक्रममा सहभागी थप १० जनासँग पनि कुरा गरेका थियौं। उनीहरू सबैले समान कुरा बताए।
केन्द्र, प्रदेश, जिल्ला, सम्पर्क समन्वय कमिटी खटिएर, एक वडा एक गाडी जसरी यातायातको प्रबन्ध गर्दा पनि सोचे अनुरूप युवा आएनन्। पार्टी कमिटीमै युवाको संख्या कम भएकाले कार्यक्रममा सहभागिता बढाउन नसकिएको उनीहरूले बताए।
यद्यपि स्याङ्जा आँधिखोला गाउँपालिका वडा नम्बर ६ का मेघनाथ ढकाल भने निकै पुलकित देखिन्थे। सामाजिक सञ्जालमा अभ्यस्त उनी पछिल्लो समय पार्टी र नेतृत्वप्रतिको लोकप्रियता खस्किँदै गएकोका साह्रै चिन्तित थिए।
नेतृत्वले सामर्थ्य लगाए पनि मानिसहरूको सहभागिता रहँदैन कि भनेर उनलाई संशय रहेछ। तर भृकुटीमण्डप र प्रदर्शनीमार्ग ढाकिने गरी मानिसहरू सहभागी भएकाले उनी खुसी देखिए।
'आजको भेलाले पार्टीको पक्षमा मानिसहरू छन् भन्ने नै देखियो। युवा कम सहभागी भएजस्तो देखिए पनि आजको उपस्थितिले पार्टीको जनाधार घटेको छैन नै भन्ने देखाएको छ,' उनले भने।
मञ्च युवालाई दिएपछि नेताहरू कार्यकर्ता भेट्न दर्शकदीर्घातिर
एमालेका मञ्च प्रायः आकर्षक नै हुनेग र्छन्। आमसभा र महाधिवेशनमा एमालेको मञ्च कौशल देखिन्छ। त्यसले आकर्षण पनि पैदा गर्छ। एमालेको मजदुर संगठनका अध्यक्ष विनोद श्रेष्ठले यसको संयोजन गर्ने गरेका छन्। प्रायः मञ्चको साजसज्जादेखि व्यवस्थापनमा उनै दृश्यमा हुन्छन्।
युथ सेलिब्रेसनको मञ्च सजावटमा उनै केन्द्रमा थिए।
यस पटक पनि उनको कौशल देखिन्थ्यो। एमालेले युथ सेलिब्रेसनका लागि प्रदर्शनीमार्गदेखि भृकुटीमण्डपसम्मको क्षेत्र ओगटेको थियो। पद्मोदय मोडमा मञ्च खडा गरेको थियो। सहभागीको आँखामा घाम नपरोस् भनेर पूर्वतिर मञ्च बनाएको एमालेले प्रदर्शनी मार्गभरि बस्न र आवतजावत गर्न मिल्ने गरी ठाउँ छुट्टयाइदिएको थियो। भित्रपट्टि भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भने स्टल राखिएको थियो। र, फोटो स्पट पनि बनाएको थियो।
पद्मोदयदेखि राष्ट्रिय सभागृहसम्मै बाटोको दायाँबायाँ आकर्षक कटआउट सहितको विश्रामपेटी युथ सेलिब्रेसनको अर्को सौन्दर्य थियो।
युथ सेलिब्रेसनमा प्रायः वक्ता ४० वर्षमुनिका थिए। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, पृथ्वीनारायण क्याम्पस, पोखराका नवनिर्वाचित स्ववियु अध्यक्ष विष्णु पोखरेल, महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्वस्ववियु अध्यक्ष आनन्द सिंह, कोटेश्वर बहुमुखी क्याम्पसकी अनेरास्ववियु नेता शर्मिला भण्डारीलाई वक्ता बनाइएको थियो।
पार्टीका तर्फबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बोलेका थिए।
पार्टी अध्यक्ष र महासचिवले मात्रै सम्बोधन गर्ने र मञ्चमा युवालाई मात्रै प्रस्तुत गर्ने भएपछि एमालेका नेताहरू फुर्सदिला बनेका थिए।
पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूलाई कार्यक्रम कार्यकर्ता मिलनको अवसरजस्तो पनि बनेको थियो। उनीहरू कार्यकर्तासँग गफिइरहेका, फोटो खिचिरहेका र पार्टीका गतिविधि, विकास–निर्माणबारे चासो राखिरहेका भेटिन्थे।
-1745505678.jpg)
किन गएनन् सुहाङ?
गत वर्षको प्रतिनिधि सभा उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित सुहाङ नेम्वाङलाई एमालेले युथ सेलिब्रेसनको 'आइकनिक स्पिकर' को रूपमा उभ्याउन खोजेको थियो। नौ जना युवा वक्ताको सूचीमा उनको नाम अग्रसूचीमा थियो।
तर उनी कार्यक्रममै गएनन्।
उनी दिनभर सम्पर्कविहीन नै भएर बसेका थिए।
यसबारे उनीनिकटसँग चासो राख्दा नेम्वाङ बिरामी परेको जानकारी दिए।
'उहाँलाई सञ्चो थिएन। पार्टीले योग्य ठहर्याएर वक्ताको रूपमा उभ्याएपछि उहाँ उत्साहित नै हुनुहुन्थ्यो। अचानक स्वास्थ्यमा समस्या देखियो,' उनीनिकटले जानकारी दिए।
नयाँ र पुरानो पुस्तालाई जोड्ने पुल
एमाले महासचिव शंकर पोखरेलले युथ सेलिब्रेसनलाई नयाँ–पुरानो पुस्ताको संगम भनेका थिए। एमालेले कार्यक्रममा सहभागीलाई पनि त्यसै गरी उतारेको थियो। पार्टीबाट निर्वाचित वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मलाई अनिवार्य उपस्थित हुन भनिएको थियो।
कार्यक्रममा प्रस्तुति पनि सोही अनुसार व्यवस्थापन गरेको थियो। युथ सेलिब्रेसनमा एमालेले भूमिगत कालमा गाउँगाउँमा गाउँदै हिँड्ने गीतदेखि सामाजिक सञ्जालका प्लेटफर्ममा असाध्यै रूचाइएका 'म त ढलेँ.. ढलेँ' सम्म प्रस्तुत गरिएको थियो।
एमालेका कान्छा पुस्ताले रूचाएका शान्ता रानी परियार, एलिना चौहान, पूर्ण राई एण्ड दाजुभाइहरू मञ्चमा उतारिएको थियो। युवा पुस्तामाझ निकै लोकप्रिय वाङदेन शेर्पा एन्ड द काउब्वाइज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा समेतले प्रस्तुति दिएका थिए। त्यस्तै अन्तरा ब्यान्डले 'हामी जित्नेछौं एकदिन', संघर्ष हो जीवन, जीवन संघर्ष' गाएर पुराना पुस्ताका नेताहरूलाई नोस्टाल्जिक तुल्याएका थिए।
-1745505678.jpg)