गत मार्च २३ को बिहानीपख गजाको राफानजिक अन्धाधुन्ध गोली चलाएर १५ जना स्वास्थ्यकर्मीको हत्या गरेको घटनामा इसराइली सेनाले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
आइतबार विज्ञप्ति जारी गरी इसराइली सैनिकले उक्त घटनामा सेनाको गम्भीर व्यवसायिक त्रुटी भएको बताएको छ।
त्यसदिन मानवीय सहायताका लागि एम्बुलेन्समा साइरनसहित जाँदै गरेका १५ जना स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
'अनुसन्धानबाट धेरै व्यवसायिक त्रुटीहरू भएको, आदेश उल्लंघन भएको र घटनाको विस्तृत रिपोर्ट गर्न असफल रहेको पाइयो,' विज्ञप्तिमा भनिएको छ।
सेनाले त्यस दिन घटनास्थल आपसपास २० जनाको विशेष युनिट खटिएको पनि प्रष्ट पारेको छ। तर फिल्डमा समन्वय र सूचना आदानप्रदानमा कमजोरी हुँदा घटना भएको बताइएको छ।
घटनाको छानबिनपछि फिल्ड कमाण्डरलाई चेतावनी दिइएको र सहायक फिल्ड कमाण्डलाई बर्खास्त गरेको सेनाले जनाएको छ।
सेनाको महान्यायाधिवक्ताले पनि घटनाको अनुसन्धान गरिरहेको र उनीहरूलाई फौजदारी मुद्दा लाग्न सक्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
सेनाका मेजर जनरल योआव हार-इभेनले उनीहरुले नजिकै देखिएको गाडीमा हमासका लडाकुहरू रहेको आकलपछि खतरा महशुस गरी गोली चलाएको बताए।
'हमासले नागरिकहरूबीच नै युद्धका गतिविधि सञ्चालन गर्ने र यसअघि पनि एम्बुलेन्स प्रयोग गरी गतिविधि सञ्चालन गर्दै आएका थिए। त्यसकारण पनि त्रुटी भयो,' उनले भनेका छन्।
सेनाका प्रवक्ता इफी डेफ्रिनले पत्रकारहरूसँगको कुराकानीमा उक्त स्थान युद्ध क्षेत्र रहेको बताएका छन्। 'तर इसराइली सेनाबाट त्यहाँ जे भयो त्यो गलत भयो। घटनालाई ढाकछोप गर्ने कुरै हुँदैन,' उनले भनेका छन्।
सेनाले १५ मध्ये ६ जना हमासका लडाकू रहेको बताएका। यद्यपि त्यसलाई प्रमाणित गर्ने आधारहरू भने देखाएका छैनन्।
मार्च २३ गते बिहान नहुँदै मानवीय सहायताका लागि बोलाइएपछि १६ जनाको टोली घाइतेहरुको उद्धारका लागि गएका थिए।
उनीहरू एउटा संयुक्त राष्ट्रसंघ र अर्को रेड क्रसको एम्बुलेन्समा सवार थिए। एम्बुलेनसमा साइरन पनि थियो। एउटा गाडी रोकिएको ठाउँनजिक पुगेपछि उनीहरू झरेर घाइते खोज्न लागेका थिए।
त्यसपछि उनीहरुमाथि इसराइली सेनाले अन्धाधुन्ध गोली चलाएका थिए। एम्बुलेन्समा रहेका एक स्वास्थ्यकर्मीले आफ्नो मोबाइलबाट भिडिओ खिचेका थिए।
सेनाले अन्धाधुन्ध गोली चलाएर हत्या गरेपछि उनीहरूलाई नजिकैको जमिनमा गाडेको थियो।
संयुक्त राष्ट्रसंघ र रेडक्रसको टोलीले खोजतलासका क्रममा एक सातापछि उनीहरुको शव गाडिएको अवस्थामा फेला पारेको थियो।
त्यही चिहानबाट भेटिएको मोबाइलमा त्यसदिन भएको घटनाको ६ मिनेटको भिडिओ सार्वजनिक भएको थियो।
भिडिओमा तीन वटा गाडी साइरन बजाउँदै गइरहेको देखिन्छ। केही बेरमा सडकको बायाँतर्फ एउटा गाडी देखिन्छ। एम्बुलेन्स रोकिन्छ र एकजना स्वास्थ्यकर्मी ओर्लिएर हेर्न जान्छन्।
भिडिओ गरिरहेका व्यक्तिले मानिसहरू जताततै ढलिरहेको भनेका छन्। यसको अर्थ त्यहाँ हमासका लडाकूहरू मारिएको हुन सक्छ। सहायताका लागि सबै स्वास्थ्यकर्मीहरू गाडी बाट झरेलगत्तै त्यहाँ गोलीको आवाज सुनिन्छ।
भिडिओ गर्ने स्वास्थ्यकर्मी मोबाइललाई भिडिओ रेकर्डिङ मोडमै राखेर भाग्छन्। उनले प्रार्थना गर्दै गरेको र गोली चलिरहेको आवाज पाँच मिनेटभन्दा बढी समयसम्म सुनिन सकिन्छ।
त्यो भिडिओ रेफात रेबवान नाम गरेका स्वास्थ्यकर्मीले खिचेका थिए। चिहानबाट उनीसँगै बाँकी १४ जनाको शव पनि भेटिएको थियो।
उक्त घटनामा बचेका स्वास्थ्यकर्मीले त्यसदिन १५ जना मारिँदा आफू बचेको विश्वासै गर्न नसकेको बताएका छन्।
उनले त्यसबेलाको त्रासदी सुनाएका थिए। उनका अनुसार उनीहरू घाइतेहरूको सहयोगका लागि गएका थिए। त्यतिबेला बिहान हुन केही घन्टा मात्रै बाँकी थियो। गाडीमा साइरन बलिरहेकै थियो। त्यसमा सवार सबैजना निहत्था नै थिए। आफू एम्बुलेन्सको अन्तिम सिटमा रहेको बताएका छन्।
मानवीय सहायतका लागि खबर आएको ठाउँमा पुग्दा अकास्मात गोली चल्न थालेको उनले बताए। अगाडिको साथीले भिडिओ खिच्दै प्रार्थना गरिरहेको सुनेको उनले बताए।
'त्यही बेला गोलीको आवाज नजिकै आयो। म लडेँ, र मेरो होस हरायो। जब मलाई होस आयो, वरिपरि शून्यता थियो। मेरा साथीहरू रगतमा लतपतिएका थिए, कोही चल्न छाडिसकेका थिए। मैले इजरायली सैनिकहरूको आवाज सुनेँ, उनीहरू गाडीहरू नजिक आइरहेका थिए। म घाइते भए पनि बोल्न र हल्लिन सकिनँ। मलाई लाग्यो, अब मेरो पनि अन्तिम समय आयो। तर, उनीहरूले मलाई देखेनन् कि छाडिदिए,' उनले बिबिसीसँग भनेका छन्।
सुरूवातमा एम्बुलेन्समा साइरन नै नरहेको दाबी इसराइली सेनाले गरेको थियो। भिडिओ नै सार्वजनिक भएपछि इसराइलले गल्ती महशुस गरेको थियो।