बंगलादेशमा गत सोमबार कर्फ्यु तोड्दै लाखौं विद्यार्थी तथा युवा प्रदर्शनकारी प्रधानमन्त्री निवास प्रवेश गरे। विशाल जनप्रदर्शनबीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन् र देश छाडिन्।
कोटा प्रणालीविरूद्ध एक महिनादेखि चलेको यो प्रदर्शनलाई विद्यार्थी र युवा पुस्ताले चर्काएको आन्दोलन भनिन्छ। त्यही युवा पुस्ताबाट प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गराउनमा नेतृत्वदायी भूमिका रह्यो, नाहिद इस्लामको।
आन्दोलन अवधिभर विद्यार्थी संगठित गर्नेदेखि नेतृत्व गर्नेमा उनको नाम सबभन्दा बढी चर्चामा रह्यो।
यी उनै युवा हुन्, जसले शेख हसिना भारत निर्वासित भएपछि सैन्य नेतृत्वको सरकार नस्वीकार्ने चुनौती दिए र नोबेल शान्ति विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सिफारिस गरे। यति मात्र होइन, युनुसकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सूचना पनि उनैले सार्वजनिक गरेका थिए।
यी पछिल्ला घटनाक्रमले बंगलादेशको आन्दोलनमा नाहिद इस्लामको भूमिका कति महत्त्वपूर्ण थियो भन्ने झल्काउँछ। उनलाई कतिपयले यो आन्दोलनका 'नायक' पनि भनेका छन्।
जम्मा २६ वर्षीय यी युवक को हुन्? कसरी उनले यति ठूलो आन्दोलनको नेतृत्व गरे?
भारतीय समाचार संस्था एनडिटिभीका अनुसार नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन्। उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन्।
उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे। पार्टीमा आबद्धहरूलाई उनले 'आतंककारी' को संज्ञा दिएका थिए।
शाहबाग क्षेत्रमा सरकारविरोधी प्रदर्शन क्रममा उनले भनेका थिए, 'अहिले विद्यार्थीहरूले लाठी बोकेका छन्। हामी हतियार बोक्न पनि तयार छौं।'
नाहिदका यस्तै आक्रोशपूर्ण अभिव्यक्ति र ऊर्जाले थुप्रै विद्यार्थी र युवा जमात प्रदर्शनमा थपिँदै गए।
उनले यो आन्दोलनमा प्राण भर्न सामाजिक सञ्जालको भरपुर उपयोग गरे। खासगरी फेसबुकमा उनी आफ्ना समर्थकहरूसँग नियमित कुराकानी र छलफल गर्थे। उनीहरूलाई ऐक्यबद्ध ढंगले सरकारविरूद्ध ओर्लिन आह्वान गर्थे। उनका पोस्टहरू ऐक्यबद्धता र आन्दोलनमा घाइते भएकाहरूको सहायताका लागि हुन्थ्यो।
यो क्रम बढ्दै गएपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो। उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो। आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो।
त्यति बेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए।
यो घटनाको सातादिन नबित्दै जुलाई २६ मा गोनोष्ठय अस्पतालबाट उनलाई दोस्रोपटक अपहरण गरियो। अपहरण गर्नेमा ढाका नगर प्रहरीको जासुसी शाखादेखि बंगलादेशका उच्च सैन्य बल संलग्न थिए। प्रहरीले भने आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ।
जुलाईमै भएको आन्दोलन क्रममा नाहिद र ढाका विश्वविद्यालयका केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी थप चर्चामा आएका थिए।
एक महिनादेखिको यस प्रदर्शनीमा करिब तीन सय विद्यार्थीले ज्यान गुमाएका छन्।
'यो आन्दोलनमा जति विद्यार्थी सहिद भएका छन्, त्यसको मूल्य हामीले बुझेका छौं। कुनै पनि हातलमा हामी त्यो बलिदान खेर जान दिने छैनौं,' नाहिदले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा भनेका छन्, 'हामी नयाँ प्रजातान्त्रिक बंगलादेश बनाउनेछौं जहाँ हाम्रो जीवनको सुरक्षा, सामाजिक न्याय र नयाँ राजनीतिक परिवेश हुनेछ।'
यो पनि पढ्नुहोस्: