ग्लोबल नेपाली
सन् २००६ मा स्पेन गएका मुक्त गुरूङ अहिले त्यहाँ साझेदारीमा दुइटा रेस्टुरेन्ट चलाउँदै छन्। उनी पर्यटक भिसामा स्पेन पुगेका थिए। त्यसको तीन वर्षपछि आफ्ना परिवारजनलाई पनि उतै पुर्याए।
उनी गुणस्तरीय जीवन चाहन्थे। तर देशमा फैलिएको सशस्त्र द्वन्द्वका कारण दिकदार भएर स्पेन पुगेका थिए।
उनले सन् २००९ मा टेलिकम्युनिकेसन क्षेत्रमा काम सुरू गरे। त्यसको ६ वर्षपछि सन् २०१४ मा ग्रोसरी व्यवसाय सुरू गरे। त्यसपछि केही समय जापानी सुसी रेस्टुरेन्टमा पनि काम गरे।
'सुरूआती समयमा सबैलाई गाह्रो हुन्छ। मलाई पनि त्यस्तै भयो। स्पेनको कागजपत्र नबन्दासम्म भाँडा माझ्ने र फ्याक्ट्रीमा प्याकेजिङ गर्ने काम पनि गरेँ,' उनले भने, 'अनेक हन्डर र ठक्कर खाँदै सन् २०२२ म र एक जना साथी मिलेर ग्लुटेन फ्री सुसी रेस्टुरेन्ट सुरू गरेका छौं। स्पेनमा यस्तो रेस्टुरेन्ट सुरू गर्ने हामी नै हौं।'
ग्लुटेन भनेको गहुँमा पाइने एक प्रकारको प्रोटिन हो। उनीहरूले चलाएको रेस्टुरेन्टमा ग्लुटेनरहित सुसी पाइन्छ। पछिल्लो समय राम्रो स्वास्थ्यका लागि ग्लुटेन नभएका खानेकुरा खाने चलन संसारभर बढ्दो छ।
स्पेन नेपाली युवाहरूको रोजाइमा रहेका युरोपेली मुलुकहरूमध्ये एक हो। त्यहाँ पुग्ने नेपालीको संख्या बढ्दो क्रममा छ। बितेको ६ महिनामा करिब आठ हजार नेपाली स्पेन पुगेको मुक्तको अनुमान छ।
स्पेन पुगेर स्थानीय तहमा दर्ता भएपछि तीन वर्षमा त्यहाँको कार्ड (कामको अनुमति) पाइन्छ। यसरी कानुनी रूपमा बस्न पाउने भएपछि आफ्ना परिवारजन लैजाने सुविधा हुन्छ।
त्यहाँ शिक्षा निःशुल्क रहेकाले पनि नेपालीहरू आकर्षित भएको मुक्तको भनाइ छ। अर्को युरोपेली मुलुक पोर्चुगलले नयाँ आप्रवासीलाई कार्ड दिन बन्द गरेपछि नेपालीहरू स्पेन जाने क्रम बढेको छ तर अहिले स्पेन अस्तव्यस्त छ।
'तीन वर्षसम्म कुनै काम गर्न पाइँदैन। तीन वर्ष अडिन सकियो भने कागजपत्र तयार हुने भएकाले नेपालीहरू यता आउने क्रम बढेको छ,' मुक्तले भने, 'तीन वर्ष जीवन चलाउन निकै गाह्रो छ। कोठाभाडा र खाना गरेर मासिक पाँच सय युरोसम्म खर्च हुन्छ।'
उनका अनुसार काम गर्न नपाउने तर महिनाको ७० देखि ७५ हजार रूपैयाँ खर्च हुने भएकाले तीन वर्ष टिक्न निकै कठिन हुन्छ। प्रत्येक महिना नेपालबाट पैसा मगाएर खर्च चलाउन गाह्रो हुन्छ।
'रोमानिया, क्रोएसिया, माल्टा लगायत देशमा कामदार भिसामा गएका नेपालीहरू स्पेन पुगिरहेका छन्। स्पेनमा बस्न पाउने लोभले अर्को देशको काम छोडेर आउँछन् तर यहाँ काम पाइँदैन,' उनले भने, 'तीन वर्षसम्म काम गर्न पाइएन भने ३५ लाख रूपैयाँसम्म खर्च हुन्छ।'
नेपालबाट युरोप पुग्दा १०–१५ लाख रूपैयाँ ऋण लागेको हुन्छ।
मुक्तले एनआरएनए (गैरआवासीय नेपाली संघ) स्पेनका उपाध्यक्ष, अध्यक्ष हुँदै एनआरएनए युरोप सहसंयोजक भएर काम गरे। यस कारण उनलाई भेट्ने नेपालीहरू धेरै हुन्छन्। नेपालबाट स्पेन पुग्ने योजना बनाउँदा केही थाहा नदिने अनि स्पेन पुगेपछि समस्या भयो भनेर समाधान खोज्दा अप्ठ्यारो हुने गरेको उनको भनाइ छ।
कामदार भिसामा युरोप पुगेको व्यक्ति कम्तीमा नेपालमा लागेको ऋण तिरेर अनि केही पैसा जम्मा गरेर स्पेन गए सजिलो हुन्छ। आफूले भोगेका समस्या लुकाएर स्पेनमा धेरै राम्रो छ भन्दै टिकटकमा र फेसबुकमा प्रचार गर्नेहरूका कारण नेपालीहरू समस्यामा परेको उनको ठहर छ।
'समस्यामा परेका साथीहरूको दिनमै पचासौं कल फोन आउँछ,' उनले भने।
सेन्जेन क्षेत्रमा पुगेपछि त्यस अन्तर्गतका हरेक देशमा यात्रा गर्न सकिने भएकाले नेपालीहरू स्पेन जाने क्रम बढेको छ। कतिपयलाई दलाले सेन्जेन बाहिरका देशबाट पनि स्पेन पुर्याउँछन्। सेन्जेन क्षेत्रमा जाँदा आफू काम गर्ने कम्पनी र कामका बारे राम्रो जानकारी लिन मुक्त सुझाब दिन्छन्।
'पूर्वी युरोपका कतिपय देशमा काम गर्न भनेर आउने तर काम दिने कम्पनी समेत नभेटिने भएपछि स्पेनमा आएर बस्ने गरेको पनि भेटिएको छ,' उनले भने, 'त्यसैले नेपालबाट आउँदा आफू काम गर्ने कम्पनी र त्यसको अवस्थाबारे राम्ररी बुझ्नुपर्छ।'
स्पेनमा कसैले अनुमतिबेगर काम गरेको छ भने काम दिनेलाई कारबाही हुने प्रावधान छ। कामको अनुमति नपाएको व्यक्तिलाई काम लगाउनेलाई २० हजार युरोसम्म जरिवाना हुन्छ। यस्ता तीन–चार जनाको जरिवाना तिर्नुपर्यो भने व्यवसाय नै बन्द हुन पनि सक्छ। यस कारण आधिकारिक कागजात बिना काम पाउन धेरै गाह्रो हुन्छ।
पाकिस्तानी र बंगाली व्यवसायीले निकै सस्तोमा काम लगाउँछन् तर त्यसको पनि भर हुँदैन। स्पेनमा एक जना कामदारलाई मासिक न्यूनतम १४ सय युरो पारिश्रमिक दिनुपर्छ। अनुमति नपाएका व्यक्तिले मासिक चार–पाँच सय युरोमै काम गर्छन्।
'कारबाहीबाट बच्न व्यवसायीले राम्रो चिनजान भएको व्यक्तिलाई मात्र काम दिन्छन्। दलालले स्पेनमा काम गर्न पाइन्छ, चाँडै कार्ड बन्छ भनेर पठाउँदा रहेछन्,' मुक्तले भने, 'अहिले कतिपय व्यक्तिले स्पेन बन्द (कामको अनुमति नपाउने) हुँदैछ भनेर सामाजिक सञ्जालमा भिडिओ राखेका कारण समेत यता आउने संख्या बढेको छ।'
त्यसरी स्पेन बन्द हुने संकेत नरहेको उनको भनाइ छ। यति बेला स्पेन नजान, हल्लाको पछि नलाग्न र सबै कुरा राम्ररी जानकारी लिएर मात्र निर्णय लिन उनको सुझाव छ।
'व्यक्ति एक्लै हुँदैन। घरपरिवार पनि हुन्छ। यो कुरा सोच्नुपर्छ,' उनले भने, तीन वर्षसम्म काम नगरी बसेपछि मात्र कार्डको प्रक्रिया सुरू हुन्छ। सामान्य स्पेनी भाषा जानेको हुनपर्छ। एक वर्ष काम गर्ने करार हुनुपर्छ।'
कामको करार हुन सकेन र कागजी करार देखाउनुपर्यो भने १०–१२ हजार युरो खर्च गर्नुपर्छ।
त्यसैले यति बेला स्पेन जान चाहनेलाई उनको सल्लाह छ, 'जति समस्या परे पनि तीन वर्ष थेग्न सक्छु भन्ने हो भने स्पेन आउनुहोला। तैपनि तत्कालै नआएकै राम्रो।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com