मसुद पेजेस्कियान इरानका राष्ट्रपति निर्वाचित भएका छन्। ६९ वर्षीय मसुद पेसाले मुटुका शल्यचिकित्सक हुन्।
शुक्रबार भएको चुनावमा उनले कट्टरपन्थी सइद जलिलीलाई हराएर जितेका हुन्। चुनावमा लगभग तीन करोड भोट खसेको थियो। मसुदले करिब एक करोड ६४ लाख भोट पाए भने जलिलीले एक करोड ३५ लाख।
सन् १९९७ देखि २००५ सम्मका राष्ट्रपति मोहोम्मद खतामीको सरकारमा मसुद सुरूमा उपस्वास्थ्य मन्त्री र पछि स्वास्थ्य मन्त्री थिए। सन् २००८ देखि मसुद तबरिजबाट लगातार पाँच पटक सांसद निर्वाचित भएका छन्।
मसुद इरानको अर्थतन्त्र सुधार्न अमेरिकासँग वार्ता गर्नुपर्छ र महिलालाई आफूले चाहेको लुगा लगाउने अधिकार दिनुपर्छ भन्ने सुधारवादी हुन्। उनलाई यसपालिको चुनावमा सुधारवादी पूर्वराष्ट्रपति खतामीको समर्थन थियो। त्यस्तै सन् २०१३ देखि २०२१ सम्म राष्ट्रपति रहेका अर्का सुधारवादी हसन रूहानीको पनि समर्थन थियो।
रूहानी सरकारका विदेश मन्त्री जवाद जरिफ त मसुदका मुख्य प्रचारक नै थिए। जरिफ उनै हुन् जसले अमेरिकामा बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकासँग इरानी आणविक हतियार कार्यक्रम रोक्ने सम्झौता गरेका थिए।
नयाँ राष्ट्रपति चुनिएसँगै मसुद इरानी सरकारको अनुहार हुनेछन्। उसो त इरानमा सबै शक्ति सर्वोच्च नेता आयातोल्लाह अली खमेनीसँग रहन्छ। महत्त्वपूर्ण विषयमा खमेनीकै कुरा चल्छ। तर पनि सरकार प्रमुखका रूपमा राष्ट्रपतिको केही भूमिका अवश्य हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्तरमा मसुद इरानी सरकारको अनुहार बन्नेछन्।
यहाँनिर एउटा प्रश्न उठ्न सक्छ — सबै शक्ति आफ्नो हातमा लिएका तानाशाह खमेनीले राष्ट्रपतिको चुनाव किन गराउँछन्? र, सुधारवादी-नरमपन्थीले त्यस्तो शासनमा राष्ट्रपतिको चुनाव जित्न कसरी सम्भव हुन्छ?
खमेनीले राष्ट्रपतिको निर्वाचन गराउनुको मुख्य कारण आफ्नो देशमा प्रजातन्त्र छ भनेर देखाउन हो।
संसारका जुनसुकै तानाशाहलाई आफ्नो शासनको वैधताबारे चिन्ता हुन्छ। इरानका सर्वोच्च नेता खमेनीलाई पनि आफूले गराउने राष्ट्रपति निर्वाचन जनताले बहिस्कार गरे भने त्यसको कुनै अर्थ हुँदैन भन्ने थाहा छ।
इरानमा हुने राष्ट्रपतीय निर्वाचन पूर्णतया खुला हुँदैन। चुनावमा को को उठ्न पाउने भनेर निर्धारण गर्न १२ सदस्यीय गार्डियन काउन्सिल बनाइएको हुन्छ। सो काउन्सिलमा ६ जना इस्लामी धार्मिक नेता हुन्छन् भने बाँकी ६ जना न्याय सेवाका व्यक्तिहरू हुन्छन्।
यो गार्डियन काउन्सिलले इस्लामी शासन व्यवस्थाको विरोध गर्नेलाई उम्मेदवार बन्नै दिँदैन। मुख्यतया कट्टरपन्थीहरूबीच नै प्रतिस्पर्धा हुने गरी चुनाव गराइन्छ। अझ कट्टरपन्थी भए पनि खमेनीलाई मन नपर्ने व्यक्ति उम्मेदवार छानिँदैन।
अर्कातिर शासन व्यवस्थाको विरोधीले समेत भोट हालून् भनेर सुधारवादी-नरमपन्थी खेमाबाट एक-दुई जना उम्मेदवार छानिन्छ। तर यो खेमाबाट कट्टरपन्थीको जस्तो बलियो उम्मेदवार हुँदैन। कमजोर र चुनाव जित्न नसक्ने उम्मेदवारलाई मौका दिइन्छ।
खेमानीको यो रणनीति सधैं सफल भने हुँदैन। आफ्नो उम्मेदवार कमजोर भए पनि सुधारवादी-नरमपन्थी खेमाका सबै जना कट्टरपन्थीलाई हराउन लागि पर्छन्। कमजोर उम्मेदवारको वरिपरि गोलवद्ध भएर सघाउँछन्। कहिलेकाहीँ यही खेमा बलियो बनिदिन्छ र खतामी, रूहानी र अहिले मसुद जस्ता सुधारवादीले पनि चुनाव जित्छन्।
यसपालि मसुद उम्मेदवार भए पनि पहिलो चरणको चुनावमा करिब ४० प्रतिशत (दुई करोड ४५ लाख) मात्रै भोट खसेको थियो। जनताको बहिस्कारबाट जोगिन राष्ट्रपतिको निर्वाचन गराउने खमेनी यो कुराले चिन्तित भएका थिए।
दोस्रो चरणको चुनावमा पनि लगभग ५० प्रतिशत मात्रै भोट खस्यो। राष्ट्रपतीय निर्वाचनमा यति थोरै प्रतिशत मत यसअघि एकपटक मात्र खसेको थियो। यसका बाबजुद सुधारवादी मसुदले कट्टरपन्थी उम्मेदवार जलिलीलाई झन्डै ३० लाख मतले पराजित गरे।
मसुद इरानको पश्चिम अजरबैजान प्रान्तमा जन्मेका हुन्। अल्पसंख्यक अजेरी समुदायका उनी पेसाले चिकित्सक हुन्। उनी सन् १९८० देखि १९८८ सम्म चलेको इराकसँगको युद्धमा चिकित्सककै रूपमा खटेका थिए।
उनी र उनकी श्रीमतीले सँगै चिकित्साशास्त्र पढेका थिए। उनकी श्रीमती स्त्रीरोग विशेषज्ञ थिइन्। तीस वर्षअघि एक कार दुर्घटनामा मसुदकी श्रीमती र कान्छा छोराको निधन भएको थियो।
इरानमा पुरूषले एकभन्दा धेरै बिहे गर्ने संस्कार भए पनि मसुदले श्रीमतीको निधनपछि अर्को बिहे गरेनन्। श्रीमती बित्दा उनी ४० वर्ष पनि पुगेका थिएनन्। उनले बरू आफै खाना पकाउन सिके र तीन छोराछोरी एक्लै हुर्काए।
मसुदको जीवनको यो पाटोले पनि उनको सुधारवादी छविलाई मद्दत पुर्यायो।
मृदुभाषी मसुद दमनका विरूद्ध बोल्ने नेता मानिन्छन्।
सन् २०२२ सेप्टेम्बरमा एक युवतीको जेलमा मृत्यु भएको थियो। ती युवतीलाई सही तरिकाले हिजाब नलगाएको आरोपमा 'आचरण पालना गराउने पुलिस' ले पक्राउ गरेको थियो। युवतीको मृत्युपछि देशैभरि विरोध प्रदर्शन फैलियो। यसको व्यापक दमन भयो। मसुदले त्यो दमनका विरोधमा बोलेका थिए।
त्यस्तै सन् २०१९ मा तेलको भाउ बढेपछि भएको प्रदर्शनको दमनको पनि उनले विरोध गरेका थिए।
मसुद सन् २०१३ मा पनि राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका थिए। पछि उनले नाम फिर्ता लिए। सन् २०२१ मा फेरि चुनाव लड्न खोज्दा उनलाई गार्डियन काउन्सिलले उम्मेदवार बन्न दिएन। त्यो निर्वाचन इब्राहिम रइसीले जिते। गत मे १९ मा रइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि अहिले चुनाव गराइएको हो। यो चुनावमा भने मसुद उम्मेदवार बन्न पाए, जिते पनि।
तर मसुदका लागि यो समय सहज छैन।
खमेनीका प्रिय इब्राहिम रइसी सरकारको पालामा इरानको अमेरिकासँगको सम्बन्ध झनै बिग्रियो। आर्थिक नाकाबन्दीले इरानको अर्थतन्त्र झन् जर्जर भएको छ। चुनाव प्रचारका क्रममा मसुदले अमेरिकासँग सम्बन्ध सुधारेर नाकाबन्दी नहटाएसम्म अर्थतन्त्र सुधार्न नसकिने बताउँदै आएका छन्। त्यस्तै महिलालाई आफूले चाहेको लुगा लगाउने अधिकार भएको पनि दोहोर्याउँदै आएका छन्।
उनले खमेनीलाई अमेरिकासँग वार्ता गर्न अनुरोध गरेर सम्झाउन सक्छन्। तर वार्ता गर्ने कि नगर्ने र गर्दा के के सर्तमा गर्ने भन्ने खमेनीले नै निर्धारण गर्नेछन्। त्यस्तै अमेरिकासँगको वार्तामा मसुदको भन्दा धेरै प्रभाव इरानी सेनाको हुनेछ। खमेनीले शासन टिकाउन सेना प्रयोग गरिरहेकाले इरानको सेना बलियो छ। पछिल्लो समय झन् छिमेकमा हिजबुल्लाह, हमास र हुथी समूहहरू विस्तार गरेर सेनाले शक्ति आर्जन गरेको छ।
सन् २०२२ सेप्टेम्बरमा युवती मृत्युको घटनापछि आगोजस्तै सल्किएको महिलाहरूको विरोध प्रदर्शनका कारण सडकबाट हराएका ‘आचरण पालना गराउने पुलिस' पनि अहिले फर्किन थालेका छन्। यो अवस्थामा महिलालाई आफूले चाहेको लुगा लगाउन दिने अधिकारको प्रत्याभूति मसुदले गराउन सक्छन् कि सक्दैनन् भनेर पनि हेर्नुपर्नेछ।
यीबाहेक इरानको सबभन्दा महत्त्वपूर्ण निर्वाचन पनि उनकै कार्यकालमा हुने सम्भावना धेरै छ।
इरानका सर्वोच्च नेता ८५ वर्षीय आयातोल्लाह अली खमेनी बिरामी छन्। उनको उत्तराधिकारी टुंगो लागेको छैन।
मृत्यु नहुञ्जेल एकलौटी रूपमा इरानमा शासन गर्न पाउने सर्वोच्च नेताको चयन विज्ञहरूको सभाले गर्नेछ। सर्वोच्च नेता बन्न इस्लामी धर्मको ज्ञाता भएको लगायत सर्तहरू छन्। त्यसैले मसुदको त्यसका लागि योग्यता पुग्दैन। यसअघिका राष्ट्रपति इब्राहिम रइसीको त्यस्तो योग्यता पुग्थ्यो। उनी जीवित भएको भए सर्वोच्च पदका मुख्य दावेदार खमेनीका माइला छोरा मोज्तबाका प्रतिस्पर्धी मानिन्थे। कतिले त सर्वोच्च नेताको दौडकै कारण रइसीको हेलिकप्टर दुर्घटनामा पारिएको दाबी समेत गर्छन्। सन् २०२२ जनवरीमा खमेनीका प्रिय सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको थियो। त्यो बेला रोएका खमेनी आफ्ना प्रिय नै ठानिएका इब्राहिम रइसी मर्दा भने रोएनन् भन्ने टिप्पणी समेत सुनिन्छ।
इरानमा साढे चार दशकअघि इस्लामिक क्रान्तिद्वारा पहलवी शाह वंशको अन्त्य भएको थियो। अब खमेनीका छोरा सर्वोच्च नेता भए भने फेरि अर्को वंशको सुरूआत हुनेछ। यो अवस्थामा, कट्टरपन्थी र सेनाले पहिले क्रान्तिकारीहरूले राजसंस्थाको विरोध गरेको भन्दै खमेनीका छोरा मोज्तबालाई सर्वोच्च नेता बन्न नदिन चलखेल गरे भने, राष्ट्रपति मसुद पेजेस्कियानलाई देशमा सुव्यवस्था कायम गर्न ठूलो चुनौती हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)