बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि फरार छन्।
बागलुङ र पोखरामा पनि कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका हुन्।
‘हामीले यसबीचमा उजुरी आह्वान गरेका थियौं। तिनै उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेर सुनुवाइ पनि भइरहेको छ,’ बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘तर, मेयर नेपाली सम्पर्कमा आउनु भएको छैन।’
ढोरपाटन-१ घर भएका मेयर देवकुमार नेपालीसहित ११ जना सञ्चालकविरूद्ध असार २५ गते मुद्दा दर्ता भएको बागलुङ जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा मोहन घर्तीले जानकारी दिए।
‘गत असार २५ गते इमेज बचत तथा सहकारीका अध्यक्ष तथा सञ्चालकहरूविरूद्ध मुद्दा दर्ता भएको हो। पछिल्लो साउन ४ गतेलाई पेसी तोकिएको थियो,’ मुद्दाको अवस्था सुनाउँदै उनले भने।
साउन ४ गते लक्ष्मी सेन सुनार, चित्रबहादुर भण्डारी, रूपा विक, शक्ति किसान, डोरबहादुर परियार, लालमती रोका, सुनील नेपाली, झगबहादुर शाही, अनील नेपाली, देवकुमार नेपाली, अनिता बुढा मगरसहित ११ जनाविरूद्ध मुद्दा दायर भएकामा प्रबन्धक शक्ति किशान, लेखा प्रमुख चित्रबहादुर भण्डारी र सञ्चालक समिति सदस्य लालमति रोकालाई पुर्पक्षका लागि थुनामा राखिएको प्रजिअ रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्।
तर, देवकुमार नेपालीको पहुँचमा प्रहरी पुग्न सकेको छैन। बचतकर्ताहरूले उजुरी दिनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा विदेश जान नदिन पत्राचार गरेको थियो।
उनी फेला नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले जानकारी दिए।
‘हामीले सुरूमै तीन जनालाई पक्राउ गरेका थियौं। यस प्रकरणमा अरू पक्राउ परेका छैनन्,’ उनले भने, ‘सहकारीका अध्यक्ष तथा मेयर देवकुमार नेपालीविरूद्ध इन्टरपोलमा रेडकर्डर नोटिस जारी गरिएको छ।’
उनले मेयर देवकुमारविरूद्ध एक महिनाअघि नै रेड कर्नर नोटिस जारी भएको पनि जानकारी दिए।
मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरूद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेको थियो।
जेठ २१ गते जिल्ला प्रहरी कार्यालय बागलुङले उजुरी आह्वान गरेको थियो। मेयर देवकुमार नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए।
बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको देखिएको छ।
मेयर देवकुमारले पोखरा महानगरपालिकामा पनि इमेज बचत तथा ऋण सहकारीकै नाममा अर्को सहकारी दर्ता गरेका थिए।
जहाँबाट ५ सय बढी बचतकर्ताको ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताएका छन्।
उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको प्रबन्धकको भनाइ छ।
दुई संस्थाको गरी नेपालीले २ अर्ब बढी रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट देखिएको छ।
प्रबन्धक पौडेलका अनुसार अध्यक्ष नेपालीले बागलुङकै संगीता थापा मगरलाई अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन नै छन्।
बागलुङमा सञ्चालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र सञ्चालनमा छ।
सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेशभन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ।
सहकारी ऐनले तोकेको सोही व्यवस्थाअनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टाछुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्।
दुबै सहकारीका पीडितहरू भने सरकारका नियमनकारी निकायले आवश्यक अनुगमन नगरेकाले निक्षेप जोखिममा परेको गुनासो गर्छन्।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले सहकारीको सञ्चालक पद छाडेका थिएनन्। सहकारी विनियमले जनप्रतिनिधीलाई सञ्चालक बन्न नपाउने व्यवस्था गरेको छ।
मेयर नेपालीले यसरी कानुनको उल्लङ्घन गरेका कुरा उनी सम्पर्कविहीन भएपछि मात्रै खुलेको थियो।
२०७९ को स्थानीय चुनावमा नेपाली नेकपा (एमाले)बाट मेयरमा निर्वाचित भएका थिए।