नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्।
मंसिर ५ गते जनकपुरमा हुने आमसभामा झा एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराउने एकीकृत समाजवादी पार्टी प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले सेतोपाटीलाई बताए।
लामो समय एमाले राजनीति गरेका झा पहिलो संविधान सभाको निर्वाचनपछि माओवादी प्रवेश गरेका हुन्।
२०५६ र २०६४ को निर्वाचनमा धनुषाबाट एमालेका तर्फबाट निर्वाचित झा २०७० को निर्वाचनमा भने पराजित भएका थिए।
२०७० को निर्वाचनमा झा माओवादी उम्मेदवार बनेका थिए। केही समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेका झा फेरि माओवादी नै फर्किएका थिए। २०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट धनुषामा उम्मेदवार बनेका थिए।
एमाले माओवादीको एकता भंग भएसँगै माओवादी बनेका झा अब एकीकृत समाजवादी पार्टीमा जान लागेका हुन्।