नेकपा एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पार्टी एकता आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जारी गरेको वक्तव्यलाई 'भ्रामक' र 'झूट र भ्रमको पुलिन्दा' भनेका छन्।
खतिवडाले आइतबार राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, 'ओलीले तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादीसमेत समावेश २६४ सदस्यीय बनाएका छन्। उनले जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रूपले जेठ ३ को पूर्वअवस्थामा लेखेर जाल गरेका छन्।'
शेरबहादुर देउवाको पक्षमा सर्वोच्चमा पेस भएका एमाले सांसदहरूको हस्ताक्षर फिर्ता लिन लाउने मात्र ओलीको नियत देखिएको खतिवडाको भनाइ छ।
'उनले अरू कुनै कुरामा आफूलाई सच्याएका छैनन्। यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन। मातहत पार्टी कमिटी र जनसंगठनबारे उनले एमाले कालमा नफर्काउने गरी 'मूलभूत रूपमा' भन्ने शब्द राखेर षड्यन्त्रको बाटो सुरक्षित गरेका छन्,' खतिवडा भन्छन्, 'यो स्वीकार्य छैन। यसमा नअल्मलिनुहुन अनुरोध छ।'
उनी अगाडि लेख्छन्, 'यसबीच विभिन्न कमरेडहरूले गल्ती गरेकोमा कारबाही गरिने छैन भनेका छन्। निष्कासन गरिएकाको कारबाही खारेज गरेका होइनन्। यो पनि कार्यकर्तालाई अलमल्याउने तर्क मात्र हो। आफूले गल्ती गरेको स्वीकार गरेका छैनन्। समग्रमा यो झूट र भ्रमको पुलिन्दा हो। कोही पनि भ्रममा नपर्नु होला।'
संसद विघटन गरेकोमा माफी माग्दै विघटन फिर्ता लिनुपर्ने प्रधानमन्त्रीले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएको खतिवडाको भनाइ छ।