नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीको विज्ञप्तिलाई स्वागत गरेका छन्। उनले ओलीले आज पार्टी एकताका लागि सार्वजनिक गरेको बक्तव्य सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
ओली आह्वान पत्रपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलतः सकारात्मक छ।’
उनले यो वक्तव्यपछि कार्यदलस्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खुलेको समेत बताए।
‘पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयलाई समाधान गर्नेछ। सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ,’ उनले भनेका छन्, ‘सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु। हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरू हुन्छ।’
यसअघि आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन्।
हेर्नुहोस् समाचारः
एकताका लागि आह्वान गर्दै ओलीद्वारा एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा