२०७४ वैशाख। मध्य तराईको चितवनमा एकातिर तापक्रमको पारो उकालो लाग्दै थियो अर्कातिर स्थानीय चुनावको सरगर्मी बढ्दै थियो।
चुनाव त अन्त पनि हुँदै थियो तर भरतपुरको चुनावमा धेरैका आँखा थिए किनकी त्यहाँको मेयरमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेणु दाहाल उम्मेदवार बनेकी थिइन्। रेणुलाई जिताउन नेपाली कांग्रेसले भरतपुरमा उम्मेदवारी नै दिएको थिएन।
कांग्रेस र माओवादी सत्तामा थिए, तत्कालीन एमाले प्रतिपक्षी। एमालेबाट देवी ज्ञवाली उम्मेदवार थिए।
भरतपुरको चुनावमा आफ्नो पार्टीविरूद्ध कांग्रेस र माओवादीले गठबन्धन गरेपछि एमाले चितवनकी सचिव पार्वती रावललाई चुनावको चटारोले नछुने कुरै भएन।
बाहिर चुनावी सरगर्मी बढिरहेका बेला उनको पेटभित्र भने नयाँ मानिस हुर्किरहेको थियो। राजनीतिमा लागेपछि दुई जिउकी भएँ भनेर आराम गर्न मिलेन। शारीरिक रूपमा आराम गर्नुपर्ने बेला पार्वतीको दौडधुप झनै बढ्यो। भरतपुरको नतिजा आफ्नो पक्षमा पार्न उनी मतदाताका घरदैलोमा पुगिन। गर्भवती हुँदाका अप्ठेरा भुलेर।
'म चुनावका सबै कार्यक्रममा सहभागी हुन्थें। कति कार्यक्रम सञ्चालन गर्नुपर्थ्यो, कतिमा आफैं वक्ताको रूपमा बोल्नुपर्थ्यो। कति आफैंले कार्यक्रम व्यवस्थापन गर्नुपर्थ्यो,' रावलले केहीदिनअघि सेतोपाटीसँग पुराना कुरा सम्झिइन्, 'एकातिर पार्टीको जिम्मेवारी थियो अर्कातिर पेटमा भएको बच्चाको। त्यो सबै कुरालाई मैले व्यवस्थापन गरें।'
चुनाव सकियो। परिणाम आउनुअगावै मतपत्र च्यातिएपछि भरतपुरमा रडाको भयो। मतपत्र च्यातेका वडामा फेरि चुनाव हुने भयो।
साउनमा पार्वती सुत्केरी भइन्। दोस्रो सन्तानका रूपमा छोरा जन्मिए।
मंसिरमा फेरि आमनिर्वाचन हुने भयो। चार महिनाकी सुत्केरी पार्वतीलाई फेरि चटारो सुरू भयो। ती चार महिनामा नारायणीमा धेरै पानी बगिसकेको थियो। वैशाखमा भरतपुरमा आफूलाई हराउन मतपत्र च्यातेको माओवादीसँग एमालेले गठबन्धन बनायो।
चुनावी तालमेल भएपछि चितवन-३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनाव लड्ने भए।
सात महिनाअघि प्रचण्डकी छोरीलाई हराउन घरदैलोमा हिँडेकी पार्वती काखेबालक बोकेर यसपालि प्रचण्डलाई जिताउन हिँडिन्।
वाम गठबन्धनको सहयात्री दलको अध्यक्षकै निर्वाचन क्षेत्र परेकाले पनि चितवन-३ का कम्युनिष्ट कार्यकर्तालाई चुनौती थपिएको थियो।
'संसदीय निर्वाचनमा वाम गठबन्धनका तर्फबाट पार्टीको जिम्मेवार कार्यकर्ताको हिसाबले बच्चालाई काखमा लिएर म जनता र कार्यकर्ताको घरमा पुगें। त्यसमा पनि बाम गठबन्धनका उम्मेदवार प्रचण्ड भएकाले मेरो जिम्मेवारी धेरै थियो, ' उनले भनिन्, 'काखमा बच्चा लिएर सबै प्रक्रियामा सहभागी हुन पाउँदा गर्व महशुस पनि हुन्थ्यो। एकातिर बच्चाको जिम्मेवारी अर्कोतिर राजनीतिक जिम्मेवारी त्यो दोहोरो जिम्मेवारी पूरा गरेकोमा म आफूलाई खुसी नै ठान्छु।'
कांग्रेसको पकड भएको क्षेत्रमा प्रचण्ड उमेदवार बनेका थिए। कांग्रेसले राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई समर्थन गरेको थियो। त्यो क्षेत्रमा राप्रपाको पनि सम्मानजनक उपस्थिति थियो। नेकपा एमाले र माओवादीबीचमा विभाजित मतलाई एक ठाउँमा ल्याउनु अर्को चुनौती थियो। यी चुनौतीलाई पार लगाउने प्रमुख जिम्मेवारी बोक्नेमा पार्वती पनि एक थिइन्। उनी आफूले पाएको जिम्मेवारी पूरा गर्न सफल भइन्। प्रचण्डले चुनाव जिते।
माघमा राष्ट्रिय सभाको निर्वाचन भयो। पूर्वएमाले र माओवादी गठबन्धनबाट पार्वती उम्मेद्वार बनिन्। बलियो गठबन्धन भएकाले सजिलै जित हात पारिन्।
त्यसपछि सुरू भयो उनको संसद यात्रा। त्यो यात्रामा उनका ६ महिनाका छोरा पनि सँगै थिए।
संसदमा आएसँगै उनलाई महत्वपूर्ण जिम्मेवारी थपियो। उनलाई पार्टीले राष्ट्रिय सभाको राष्ट्रिय समन्वय तथा सरोकार समितिको सभापति बनायो।
सांसद बनेपछि पार्वती श्रीमान् दिनेशकुमार थापा, ठूलो छोरा दिवस थापा, सासुससुरालाई चितवनमै छोडेर काठमाडौं बसाइँ सरेकी छन्। कान्छा छोरासँग उनी कपनमा दिदीको घरमा बस्छिन्।
'एकातिर म बच्चा हुर्काउँदैछु र अर्कोतिर संसदीय जिम्मेवारी छ। सकेसम्म दुईवटै काममा कमी नहोस् भन्ने हो। तर कमजोरी त कहिलेकाहीँ भइहाल्छ,' उनले भनिन् 'समितिको काम गर्दै जाँदा कहिले बच्चा बिरामी भइदिन्छ। यस्तो बेलामा समस्या त हुन्छ तर पनि आइपरेका समस्या समाधान गर्दै कामको जिम्मेवारी र पारिवारिक जिम्मेवारीलाई पूरा गर्न लागिरहेकी छु।'
राति बस्ने गरी कतै जानु पर्यो भने उनले साढे २ वर्षका छोरा दियान थापालाई लिएर जान्छिन्। संसदीय समितिले सातै प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्दा उनले छोरालाई सँगै लिएर गइन्।
दिउँसो सिंहदरबार आउँदा र अन्य ठाउँमा जाँदा भने उनले छोरालाई लिएर हिँड्दिनन्। तर पछ्यायो भने छोड्न सक्दिनन्, 'आमाको मन' न हो।
'सहजै रूपमा मान्यो भने छोड्छु, पछ्यायो भने म लिएर हिँड्छु। सकेसम्म त म लिएर हिँड्दिन रात बस्न जाँदा त लिएरै हिँड्छु तर अरू बेलामा पच्छायो भने रोयो भने छोड्न मन लाग्दैन आमाको मन हो,' उनले भनिन्, 'कहिले त उसैले बाइ भनेरै पठाउँछ तर उसलाई रुवाइरुवाइ घर छोड्न नपरोस् जस्तो लाग्छ, छोडेको पनि छैन।'
राजनीति गर्ने आमाकै संगतले होला दियानले राजनीतिक शब्द पनि सिकेका छन्। तोतेबोलीमा भने पनि सोधेका कतिपय राजनीतिक जवाफ उनले दिन सक्छन्।
बेलाबखत संसदमा गएका बेला समितिका कर्मचारीसँग जिस्किने चल्ने गरिरहन्छन्। सांसदहरुले सोधेको जवाफ तोते बोलीमा रमाइलो पाराले दिन्छन्।
ममीलाई के भन्छन्? भनेर प्रश्न सोधे दियानले जवाफ दिन्छन्- माननीयज्यू भन्छन्।
ममीले के गर्नुहुन्छ भनेर सोध्दा उनी भन्छन्- भाषण।
कुन पार्टी भनेर सोधे सूर्य पार्टी भन्छन्।
सांसद कोमल वलीलाई कोमल माननीय भन्छन् अरूलाई सांसदलाई आमा माननीय भन्छन्।
२०३५ सालमा जन्मिएकी पार्वतीले सानैदेखि कम्युनिष्ट विचार रोजिन्। किसान परिवारमा जन्मिएकी भए पनि उनका बाबुआमा सामान्य कम्युनिष्ट विचार धारा बोक्ने भएकैले उनको विचार पनि त्यतै मोडियो। २०४८ सालमा चितवनबाट सांसद बनेका जेपी भेटवालकै प्रभावले आफूलाई कम्युनिष्ट राजनीतिमा लाग्न अझै सजिलो भएको उनले बताइन्।
विवाहपछि धेरै महिलाको जिन्दगीको बाटो मोडिन्छ तर पार्वतीको हकमा त्यो लागू भएन। तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरू गरेकी पार्वती चितवनको पार्टी सचिवसम्म भएकी थिइन्। चितवनमै बिहे भएको र घरपरिवारले समेत सघाएकाले राजनीतिलाई निरन्तरता दिन पाएको उनको अनुभव छ।
पूर्वी चितवनको चैनपुरकी पार्वती बिहेपछि अहिलेको भरतपुर १६ की बासिन्दा भइन्।
'बिहेपछि राजनीतिमा अझै सक्रिय भएँ। पूर्वी चितवन जन्मिएँ, बिहेपछि पश्चिम चितवनमा गएर राजनीति गरें। मलाई कुनै समस्या भएन राजनीतिलाई निरन्तरता दिन पाएँ,' उनले भनिन्, 'बच्चा जन्माउने-हुर्काउने अनि राजनीति र पढाइलाई निरन्तरता दिने काम गर्न अप्ठ्यारो भने पक्कै छ।'
पार्टी राजनीतिमा महिलालाई मुख्य जिम्मेवारी दिने सवालमा अझै विभिन्न खालका प्रश्न तेर्स्याइने गरेको उनको अनुभव छ।
महिला गर्भवती हुनु, बच्चा जन्माउनु उसको कमजोरीभन्दा पनि प्रकृतिले दिएको थप जिम्मेवारी ठान्नु पर्ने उनको भनाइ छ।
'मेरो ठूलो छोरा २०६२ मा जन्मिएको हो। बच्चा जन्मिने अघिल्लो दिनसम्म म सडकमै थिएँ। सानो छोरा जन्मिँदा म स्थानीय निर्वाचनमा सक्रिय थिएँ,' उनले भनिन्, 'बच्चा हुने भएकै कारणले महिलाले गर्न सक्दैनन् भन्ने सोचबाट माथि उठ्नुपर्छ। बच्चा हुर्काउने क्रममा परिवारको ठूलो सहयोग हुन्छ। जन्माउने क्रममा भूमिका बाँड्न नसकिएला तर हुर्काउने क्रममा भूमिका बाँड्न सकिन्छ।'