चितवनमा प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लको सरूवा भएको १० दिन बितिसक्यो। तर उनी अहिले पनि चितवनमै छन्।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो।
उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ।
पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भएको थियो।
सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्।
मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो।
पन्तले आइतबार चितवन जाने तयारी गरेकी थिइन्।
तर, मल्लले जिल्ला नछोडेपछि उनी आइतबार गइनन्।
‘उहाँले जिल्ला सम्हालिरहेको अवस्थामा म जाने कुरा भएन,’ पन्तले सेतोपाटीसँग भनिन्।
साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन गराइसक्नुपर्ने नियम प्रहरी संगठनमा छ।
सरूवा भएको थाहा पाएपछि अधिकृतहरू जिल्ला छोडेर नयाँ आउने अधिकृतलाई ठाउँ खाली गर्छन्।
सरूवा कार्यान्वयन गर्न नमान्नु भनेको ‘चेन अफ कमाण्ड’ लाई नै चुनौती दिनु पनि हो।
एसपी मल्लले सरूवा भएको थाहा पाएको तर प्रहरी प्रधान कार्यालयबाट औपचारिक रूपमा कुनै पत्र नपाएकाले आफूले जिल्ला नछोडेको बताए।
‘मलाई अफिसियल्ली कुनै जानकारी छैन, जानकारी नभइकन जिल्ला छोड्ने कुरा भएन,’ उनले भने।
प्रहरी प्रधान कार्यालयले प्रकाशित सरूवा सूचीलाई नै आधिकारिक जानकारी मान्नुपर्ने बतायो।
‘चितवनमा सरूवा जे भएको हो, त्यही हो,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले सेतोपाटीसँग भने, ‘अर्को कुनै विकल्प नखोजिएको हुनाले त्यही सरूवा सूचीलाई आधिकारिक मान्नुपर्छ।’
मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड हुन्।
डिएसपी हुँदा उनी लामो समय दाहालको सुरक्षामा खटिएका थिए। दाहालको सुरक्षाबाट हटेपछि उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरूवा भए।
प्रहरी उपरीक्षक बढुवा भएपछि उनी चितवन जिल्लामा सरूवा भएका थिए।
साधारणत: एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो।
उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।
प्रवक्ता क्षेत्रीले जिल्ला छोड्न किन समय लागेको भन्ने विषयमा सम्बन्धित व्यक्तिमै निर्भर रहने प्रतिक्रिया दिए।
‘कहिलेकाहीँ समय लाग्न सक्छ। अहिले इमेल इन्टरनेटको जमाना छ। सरूवा निस्केको थाहा हुन्छ। त्यसैलाई मान्नुपर्छ भन्ने हो,’ उनले भने, ‘पहिलेजस्तो खामबन्दी गरेर चिठी पठाइरहन पर्दैन।’