इस्टर पर्वका अवसरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको युद्धविराम गएराति १२ बजेदेखि नै सकिएको छ।
राष्ट्रपति पुटिनले शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यराति १२ बजेसम्मका लागि तीस घन्टाका लागि युद्धविराम घोषणा गरेका थिए।
पुटिनले रूस र युक्रेन दुवै देशमा महत्वका साथ मनाइने भएकाले इस्टर पर्वमा तीस दिनको युद्धविराम घोषणा गर्दै युक्रेनले पनि कम्तिमा तीस घन्टाका लागि युद्धविराम गर्नुपर्ने बताएको थियो।
युद्धविराम भने पनि दुवै देशले एक-अर्कामाथि लगातार आक्रमण गरेको आरोप लगाएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिन आफैले युद्धविराम घोषणा गरे पनि आक्रमण जारी राखेको बताएका छन्।
उनले तीस घन्टाको अवधीमा ३ हजारभन्दा बढी पटक युद्धविराम उल्लंघन भएको बताएका छन्।
रूसी रक्षा मन्त्रालयले पनि युक्रेनले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। किएभले सैयौं ड्रोन रूसी भूभागलाई लक्षित गरी हानेको आरोप लगाएको छ।
यद्यपि यो युद्धविराम कुनै सम्झौता वा सहमति होइन। पुटिनले युद्धविराम घोषणा गर्दै त्यसले युक्रेनको प्रतिबद्धता जाँच्ने बताएका थिए। युद्धविराम घोषणा भए पनि जमिनमा रूसी र युक्रेनी सेना भिडिरहेको र आकाशबाट पनि एक अर्काले बमबारी गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुई देशहरूले एक अर्कामाथि प्रहार गरेको आरोप लगाइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो साता रूस र युक्रेनबीच सम्झौता हुने दाबी गरेको बिबिसीले उल्लेख गरेका छन्।
यसमा उनले पुष्टी हुने अन्य आधारहरू भने बताएनन्। रूस र युक्रेनबीच युद्धविरामकको मध्यस्थता ट्रम्प प्रशासनले गरिरहेको छ।
तर अमेरिकाले त्यसमा सफलता पाउन सकेको छैन।
रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रयास पनि बिफल भएको छ।
अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्तावलाई युक्रेनले सहजै स्वीकार गरे पनि पुटिन सहमत भएका छैनन्।
पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सिमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभागहरूमा आफ्नो स्वामित्व हुनुपर्ने माग गरेको छ।
अस्थायी युद्धविराम भए युक्रेनले सेनाको संख्या बढाउने र वार्ताका क्रममा धेरै माग राख्ने डर पुटिनलाई छ।
पुटिन युद्धविरामका लागि तयार नभएपछि ट्रम्प रिसाएर रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने चेतावनी दिएका थिए। युरोपेली मुलुकहरूले पनि रुसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका थिए।
शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युद्धविरामका लागि रूस केही दिनभित्र तयार नभए अमेरिका युक्रेनमा शान्ति स्थापना प्रयासबाट पछि हट्ने चेतावनी दिएका थिए।