हिंसाको ‘चित्कार’भन्दा सत्याग्रहको ‘मौनता’ शक्तिशाली हुन्छ


आजभोली अलि पेट लागेकोले विहान विहान हिड्न थालेको छु। ‘मर्निङ वाक’ गरेर फर्कदै थिएँ, मरुको गणेश-स्थानभन्दा अलि पर तरकारी किन्दै गरेको एकजना आमा एक्कासी कराएको सुनें, ‘यो बुढो किन नमरेको होला?’ सुन्ने बित्तिकै, म एक्कासी रोकिएँ। पछाडी फर्केर हेर्दा उनी धारे हात लगाएर आक्रोश व्यक्त गर्दै थिईन्। हातमा पत्रिका थियो अनि पत्रिकामा डाक्टर केसीको फोटो।

११ औँ अनशनको १८ औं दिन। उनले थप्दै भनिन्, “ यी रगतका होली खेल्नेहरुले तिम्रो सत्याग्रहको अर्थ बुझ्दैनन्। यसरी पटक पटक मर्नुभन्दा बरु एकै चोटी मर।” उनको आखामा आशुँ थियो। आक्रोश थियो। उनी निरिह झैँ थिईन्। मेरो मनमा एउटै प्रश्न उब्जियो, “यदि जनता यति निरिह महसुस गर्छन् भने आखिर सत्तामा बस्नेहरु राजनीति चाही कसल लागि गर्दै छन्?”

सरकार र सत्तामा बस्ने प्रमुख नेतृत्वहरुले डाक्टर केसी अनि आम नागरिकलाई दस चोटी धोका दिएपछि डा केसी ११ औँ पटक अनशन बस्न बाध्य भएका हुन्। उनको यसपाली पनि अनशनको माग नयाँ होइन। त्यहि स्वास्थ्य क्षेत्रमा सु-साशन अनि आम नागरिकले स्वास्थ शिक्षामा पहुच हुनुपर्यो भन्ने नै हो। दुरदराज गाउँका मानिसहरुले पनि सुलब शिक्षा पाउनु पर्यो अनि मेडिकल शिक्षामा सबैको पहुच हुनुपर्यो भन्ने नै हो। त्यसका लागि उनको यसपालीको प्रमुख माग चिकित्सा शिक्षा ऐन संसदबाट पारित होस् भन्ने नै हो। उक्त चिकित्सा शिक्षा ऐन संसदबाट पारित भए, आम नागरिकको स्वास्थ्य अनि मेडिकल शिक्षामा पहुच हुनेछ। उनको माग यो मेडिकल शिक्षामा भित्रिदै गरेको विकृति रोकौँ भन्ने नै हो।

बिडम्बना के छ भने सबै मेडिकल कलेजहरु सहरमा थुप्रिएका छन्। २० वटा मध्ये ७ वटा त काठमाडौँ भ्याली मै छन्। जबकी सहरमा जम्मा १७% नागरिक बस्छन् अनि ८३% गाउँमा बस्छन्। हो त्यहि गाउँका ८३% जनताले पनि स्वास्थ्यमा पहुच पाउनुपर्यो भनेर डाक्टर केसी हाम्रा लागि मर्न तयार बन्दै छन्। अहिले नेपालमा करिब २० % नेपालीको मात्रै स्वास्थ्यमा पहुच छ। यो निकै पीडादायी कुरा हो। अहिले पनि प्रत्येक १७ मिनेटमा एक वर्ष नपुगेको बच्चाको मृत्यु हुन्छ। प्रत्येक ४ घण्टामा एक गर्वावती महिला र गर्भमै एकजना बच्चाको मृत्यु हुन्छ। यो लेख पढ्दा पढ्दै पनि हामीले एक जना बच्चालाई गुमाईसक्यौं।

स्वास्थ क्षेत्र मात्रै होइन, मेडिकल शिक्षा पनि दिनानुदिन महंगीदै गएको छ। एउटा बिद्यार्थी एम.डी गरेर निस्कन करिब डेड करोड रुपयाँ लाग्ने भएको छ। र त्यस्तो महँगो शिक्षामा पहुच ५% भन्दा कम नेपालीको मात्र छ। भनेपछि बाकी ९५% बिद्यार्थीले के गर्ने? छात्रवृतिमा करिब ३५० सिट छन् अनि लगानी गरेर पढ्नु पर्नेमा करिब २००० सिट। यो कस्तो शिक्षा हो? यो समता हो की? समानता हो की? समाजवाद हो की? साम्यवाद हो की? के हो? शिक्षालाई यो हदसम्म आम नागरिकको पहुच बेगर राख्ने नियम कस्तो हो मैले आज सम्म बुझेको छैन।

आज एउटा आम नागरिक हस्पताल जान डराउछ। किन? यसको जवाफ कसले दिने? डाक्टर माथि हामीलाई बिश्वास छैन। किन छैन, को बोल्ने? यो मानसिकताको दोषी को? किन डाक्टरले हामीलाई यो कुराको टेस्ट गर्नुस् भन्दा, “हामी यसले कमिसन खानको लागि होला!” भन्ने सोच्छौं? हामी डाक्टरले लेखेको औषधिमा किन बिश्वास गर्न सकिरहेका छैनौँ। हामी गरिबले डाक्टर बन्ने सपना देख्न किन छाड्दै छौं? हाम्रा डाक्टरहरु किन असक्षम बन्दै छन्? अब यी प्रश्न आम नागरिकले सोच्ने बेला आएको छ। तपाई हामी-हामीले यी प्रश्न त सोच्नै पर्छ। आजै सोचेर डाक्टर केसी साथ दिने की भोली आफ्नो परिवारको सदस्य हस्पतालको बेडमा छट्पटाउदै गर्दा सोच्ने? कुरा यहि नै हो।

अब कुरा गरौँ हाम्रा ३ जना नेताहरुको। सुरु गरौँ किंग मेकरको नामबाट चिनिएका “प्रचण्ड” बाट। प्रचण्ड ज्यु, तपाईलाई मेरो एउटै प्रश्न, तपाई आज जुन ठाउँमा हुनुहुन्छ, त्यो बिन्दुको प्रस्थान बिन्दु २०५२ सालको ४० बुदें हो की होइन? यदि हो भने, त्यहि ४० बुदेँको बुदाँ न ३५ याद छ? म सम्झाउछु। “३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ। शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ।” अनि बुदाँ न ३९ पनि याद छ? यो नि मै सम्झाउछु। “३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ।” लौ, प्रचण्ड जी अनि माओवादीका साथीहरु, अब भन्नुस् तपाईहरुको तत्कालिन माग गलत की तपाईहरु? यदि यो कुरालाई आफैले लत्याउने हो भने अब प्रचण्ड किंग मेकर होइन, माफिया मेकर बन्दै छन्।

चार-चार चोटी प्रधानमन्त्री हुनुभएको प्रधानमन्त्री शेर बहादुर ज्यु, तपाईले प्रतिनिधित्व गर्ने क्षेत्रमा, त्यो प्रदेशमा मेडिकल कलेज कति वटा छ थाहा छ? म भन्छु, “ सुन्य वटा।” त्यहि क्षेत्रको आम नागरिकको स्वास्थ्यमा पहुच कस्तो छ? तर पनि तपाई किन यी मागहरु प्रति संबेदनशील हुनुहुन्न? हेर्नुस्, जनमत र जनआस्थामा ठुलो फरक छ। तपाईले जनमत त पाएकै हो तर जनआस्था( जनभावना ) भने तपाईको पक्षमा छैन। अनि तपाईलाई भनिदिउ, जनमत अस्थाई हुन्छ अनि जनाधार स्थाई। अब तपाई तपाईको क्षेत्रको अनि तपाईको क्षेत्रको जनताको भलाईको लागि काम गर्नुहुन्न भने कसको लागि काम गर्नुहुन्छ? जनता बाठा हुदै छ है। यो लेख पनि तपाईका मतदाताले पढ्दै छन्। अब तपाईले उत्तर दिने बेला आएको छ।

केपी वली ज्युलाई मेरो झन् सामान्य प्रश्न छ, “कम्युनिस्टको कुन शिद्धान्तले स्वास्थ्य अनि शिक्षालाई प्रा.ली बनाउ भन्छ?” लेनिनले भनेका छन् की माक्सले? की मनमोहनले भनेका थिए? केहि व्यक्तिको स्वार्थको लागि आफ्नो मूल्य-मान्यता अनि सिद्धान्तको बलि नाचाढाउनुस् केपी वली ज्यु। तपाईले भन्ने गरेको जस्तो तपाईको त यो नाफाको जिन्दगी हो। बेलामै राजनीति गर्नुभएको थियो। सक्नुभयो, आफुलाई बचाउनुभयो। तर, यदि यो एन पारित भएन भने धेरैको जिन्दगी घाटामा जानेछ। तसर्थ, नाफाको जिन्दगीको सदुपयोग गर्नुहोस्।

केहि दिन अघि तपाईले भन्नु भएको थियो, “ के म अनशन बसे भने तपाईले प्रधानमन्त्रीको कुर्सी छोड्नुहुन्छ?” केपी वली ज्यु, यो प्रश्नको उत्तर म संग छैन। तर यति भन्छु, स्वार्थको मागले सत्याग्रह गर्न सकिदैन। सत्याग्रहको लागि उर्जा नै निर्स्वार्थ पनले दिन्छ। केपी वली जी अनशन बस्नु, अर्काको पसल बन्द गरेर, अर्कालाई बेरोजगार बनाएर राजनीति गरे जति सजिलो छैन। आफ्नो ज्यानको बाजी थापेर अनशन बस्न गाह्रो छ।

अब कुरा गरौँ, संसदमा रहेका सांसदहरुको। अहिले संसदमा रहेको विधेयकले आम नागरिकको स्वास्थ अनि शिक्षामा पहुचको मझबुत प्रयास गर्ने छ। जसले मेडिकल शिक्षा अनि स्वास्थ्य क्षेत्रमा विकेन्द्रित गर्छ जसले दिर्गकालिन रुपमा सबैको हित गर्छ। तर , यहि कुराको प्रत्याभूति गराउने विधेयकको दफा १२ र १३ को मर्मलाई नै कुल्चने गरि केहि सांसदहरुले संसोधन प्रताब ल्याएका छन्। चिकित्सा शिक्षा विधेयकमा ४० सांसदका ५१ उपदफामा २७६ संशोधन परेको सार्वजनिक भएको छ।

संसोधन हाल्ने सांसदहरुको अध्ययन गर्दा सांसदहरुको लगानी मेडिकल कलेजमा रहेको र उक्त संसोधनले जनताको हित भन्दा पनि व्यक्तिगत हित देखिएको छ। मैले यहि बुझ्न खोजेको यो नाङ्गो नाचलाई हामीले “कन्फ्लिक्त अफ इन्ट्रेस्ट” मात्रै भनेर चुप लाग्ने की “ पोलिसी करप्सन ” भनेर भ्रस्टाचारमा नयाँ अध्यायको सुरुवात गर्ने? हाम्रो देशमा अब  “ पोलिसी करप्सन ” बारे पनि व्यापक छलफल हुन जरुरी छ। किन यहि मुद्दाबाट सुरु नगर्ने? दण्ड नै किन नदिने?

साथै, हाम्रो संबिधानको मौलिक हककोको धारा ३१ ले प्रत्येक नेपालीलाई शिक्षामा समान पहुचको प्रत्याभूति गरेको छ। अनि, मौलिक हक कै धारा ३५ ले प्रत्येक नेपालीलाई आधारभूत स्वास्थ सेवाको निशुल्क हुनुपर्छ भएको छ। तसर्थ, डाक्टर केसीको माग संविधान अनुरुप नै छ तर यी संसोधन प्रस्ताब चाही संबिधान बिरुद्ध छ।

अन्तिममा, नेता बलियो हुनको लागि जनता बलियो हुन जरुरी छ। तर, यदि एकजना आमा यो देशमा केहि पनि हुन्न भनेर थकित हुन्छिन् अनि डाक्टर केसीलाई थप पिडा नहोस् भनेर मरेपनि हुन्छ भनेर यो अवस्थामा पुग्छन् भने हाम्रो लोकतन्त्र कसरी मझ्बुत रहन सक्छ र? निस्वार्थ र अहिंसाको लडाईले कस्तो संदेश देला र? यसरी गोविन्द केसी हारे भने आम नागरिकले आफुलाई कसरी शक्तिशाली महसुस गर्न सक्छन् र? कम्जोर जनता भएको देशको राष्ट्रियता कसरी बलियो होला? लोकतन्त्र कसरी बलियो होला र?

कम्जोर नागरिकलाई नेतृत्व गर्ने नेता सधै कम्जोर नै हुन्छ। तसर्थ, सत्याग्रहलाई बुझ्नुहोस्। माहात्मा गोविन्द केसीका माग पुरा गर्नुहोस्। किनकी, हिंसाको ‘चित्कार’भन्दा सत्याग्रहको ‘मौनता’ शक्तिशाली हुन्छ। त्यहि अहिंसा अनि मौनताले धेरै शासकहरु ढली सकेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.