आइसिसी यू-१९ विश्वकप २०२६ छनोटमा नेपाल सफल हुन सकेन।
शनिबार आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटअन्तर्गत तल्लो मुलपानी मैदानमा अफगानिस्तान र नेपालबीच निर्णायक खेल मौसमका रद्द हुँदा दुवै टोलीले अंक बाँडे। दुवै टोलीको समान ७-७ अंक भए पनि अफगानिस्तान रनरेटमा अघि रहँदै विश्वकपमा पुग्दा नेपाल भने स्तब्ध बन्यो।
मुलपानीस्थित तल्लो मैदानको पूर्वतर्फको भाग हिलो भएपछि शनिबार नेपाल र अफगानिस्तानबीचको खेल सम्भव नभएको हो।
शनिबार बिहानसम्म भएको वर्षाका कारण मैदानको पूर्वपट्टिको भागमा पानी जमेको थियो। बिहान टसमा ढिलाए भएपछि ग्राउन्ड स्टाफले मैदानबाट पानी सुकाउन हरसम्भव प्रयास गरेका थिए।
एक बजेपछि मैदानमा घाम लागे पनि दुई बजेसम्म पनि खेल हुन सम्भव भएन। दिउँसो दुई बजेको अन्तिम निरीक्षणपछि म्याच रेफ्रीले खेल रद्द भएको घोषणा गरे। खेल रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडे।
लिग चरणमा नेपाल र अफगानिस्तान दुवैले सुरूवाती तीन तीन खेलमा जित निकालेका थिए। दुवै टोलीले लिग चरणमा युएई, हङकङ र ओमानलाई हराएका थिए।
रनरेटमा भने अफगानिस्तानअघि थियो। त्यही रनरेटको फाइदा उठाउँदै अफगानिस्तान सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुँदा नेपाल भने स्तब्ध बन्यो। अफगानिस्तानको रनरेट ४.८१७० रहँदा नेपालको ३.५७६४ थियो।
म्याच रेफ्रीले मैदानको तीन स्थानमा हिलो भएका कारण खेल हुन नसक्ने बताएपछि नेपाली खेलाडी निकै भावुक बनेका थिए। भावुक बनेका नेपाली खेलाडीलाई प्रशिक्षक शक्ति गौचनले सम्झाएर शान्त पारेका थिए।
‘खेल रद्द भएपछि खेलाडीहरु निकै भावुक भएका थिए। मलाई निकै चित्त दुखेको थियो। तर जीवन यस्तै हो कहिले जित र कहिले हार हुन्छ। मैले खेलाडीहरुलाई जीन्दगीमा योभन्दा पनि दु:ख भोगेको कुरा भनेर सम्झाए,’ शक्तिले खेल रद्द भएपछि नेपाली ड्रेसिङ रूमको माहोलबारे भने, ‘सायद हाम्रो कमजोरी थियो होला। हामीले कम मिहिनेत गरेका थियौं होला। हाम्रो आउने दिनहरुमा झन् राम्रो हुन्छ भनेर खेलाडीहरु भने। राम्रो हुनका लागि नै नराम्रो भएको छ र अझै धेरै लामो यात्रा छ भनेर सम्झाएँ।’
छनोटअघि नेपालले अफगानिस्तानसँग तल्लो मुलपानी मैदानमै तीन खेलको सिरिज खेलेको थियो। सो सिरिजमा अफगानिस्तान पहिलो खेलमा हाबी भए दोस्रो खेलमा नेपालले पुनरागमन गरेको थियो।
‘अफगानिस्तानसँगको खेल जे पनि हुन सक्थ्यो। हामीले अफगानिस्तानसँग यसअघि खेलेको सिरिजमा पहिलो खेलमा हारे पनि कमब्याक गरेका थियौं। अफगानिस्तानसँग दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेका थियौ। तेस्रो खेलमा जित निकालेका थियौं। छनोटका खेलमा पानी परे पनि सकारात्मक थियौं। यो खेलमा जित्ने आत्मविश्वास थियो। तर मौसमले गर्दा हाम्रो सुनौलो अवसर खेर गयो,’ शक्तिले भने, ‘हामीले जसरी विश्वकप छनोटको यात्रा सुरु गरेका थियौ। तर मौसमले साथ दिएन। मौसमका कारण खेल रद्द भयो। हामीले स्विकार गर्नै पर्यो।’
शक्तिले छनोटका लागि खेलाडीहरुले तीन महिनादेखि मिहिनेत गरे पनि विश्वकप खेल्ने सपना पूरा हुन नसकेकोमा दु:ख व्यक्त गरे। साथै यू-१९ टोलीका खेलाडीले राष्ट्रिय टोलीबाट खेल्न सक्ने उनको भनाइ छ।