शनिबार विहान गोली प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रिफर गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले गोली प्रहारबाट घाइते भएकी बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट थप उपचारको लागि भैरहवा रेफर गरिएको जानकारी दिए।
बुद्धनगरमै साझेदारीमा होटल सञ्चालन गर्दै आएकी टीकामाथि एक भारतीय नागरिकले बिहान ९ बजेतिर गोली प्रहार गरी फरार भएका थिए।
घटनास्थल र वरपरका सिसिटिभी फुटेज हेर्दा शनिबार बिहान ९ बजेतिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको एक व्यक्तिले घरको ढोका खोली गोली प्रहार गरेर सोही मोटरसाइकलमा फरार भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रानाका अनुसार खत्रीको कम्मरमाथि ढाडमा गोली लागेको छ। गोली प्रहार गरिएको पेस्तोल बरामद नभए पनि घटनास्थलमा भेटिएको गोलीको खोकाको आधारमा कटुवा पेस्तोलले गोली प्रहार गरिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाले बताए।
प्रहरीका अनुसार खत्री अविवाहित हुन्। प्रहरीसँगको सामान्य कुराकानीमा घाइते युवतीले आफूलाई केही महिनादेखि सितारे आलम भन्ने भारतीय नागरिकले विवाह गर्न पटक-पटक दबाव दिँदै आएको र गर्न नमाने मारिदिने भन्दै धम्की दिने गरेको बताएकी छन्।
केहि दिन पहिले बिहे गर्न दबाव दिएको र नगरे गोली हानेर मारिदिने भन्दै भिडियो कलमार्फत पेस्तोल देखाएर धम्की दिएको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
शनिबार गोली प्रहार गरी फरार भएपछि रुपन्देहीका चारैतर्फका नाका बन्द गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही व्यक्तिले यसअघि केहि महिना पहिले पनि खत्रीलाई बुटवलमै आएर अपहरण गर्ने प्रयास गरेका थिए। त्यतिबेला बुटवलमै आएर जबरजस्ती लैजान खोजेको अवस्थामा स्थानीयवासीले सम्झाइ-बुझाइ गरेर पठाएको प्रहरीले जनाएको छ।
यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेकोले विस्तृत जानकारी अनुसन्धान पछि मात्र पत्ता लाग्ने प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।
‘घाइते युवती अहिले बोल्ने अवस्थामा भएपनि गोली अहिले पनि उनको शरीरभित्रै छ, बुटवलमा उपचार हुन नसकेपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ, गोली प्रहार गर्ने व्यक्तिको खोजी र घाइतेको उपचार गर्ने काम भइरहेकाले थप तथ्य पछि खुल्दै जालान्,’ उनले भने।