नेपाली कांग्रेसका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहन्द्र गिरीको घरमा बम फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित सल्यान रोडमा रहेको पूर्व सांसद समेत रहेका गिरीको निजी निवासमा सोमबार राति बम फेला परेको हो।
गेट भित्र बम फेला परेपछि त्यहाँ नेपाली सेनाले पहरा दिएको र गिरीलाई सोमबार राति सुरक्षित स्थानमा राखेको दाङका पहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहले जानकारी दिए। त्यसैगरी तुलसीपुरको वीपी चोकमा पनि अर्को बम फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।
बमको प्रकार कस्तो हो भन्ने सवालमा भने राति अबेर भएकोले केही भन्न नसकिने प्रहरीले बताएको छ ।
तर प्रहरीले निर्वाचन खारेजी र बहिस्कारको कुरा गर्दै आएको नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) ले त्रास पैदा गर्नको लागि बम राखेको हुन सक्ने आशंका गरेको छ। बम राखेर समाजलाई आतंकित तुल्याउन खोज्ने र निर्वाचन विथोल्न खोज्नेहरुको खोजी तीव्र पारिएको पनि प्रहरीले बताएको छ।
यसैबीच घोराही–लमही सडक खण्डको केही ठाउँमा बम राखेको भन्ने हल्ला गरिएको भए पनि त्यसको पुष्टि भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ।
गिरी सवार गाडीमा आक्रमण
यसैबीच नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी सवार गाडीमा नेकपा एमालेका कार्यकर्ताले आक्रमण र तोडफोड गरेका छन्। सोमबार साँझ साढे आठ बजेतिर स्थानीय कार्यकर्तालाई भेटेर आउँदै गरेका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गिरी सवार बा १४च ६३५८नम्वरको गाडीमा मानपुरको साईपुर चोकमा एमालेका कार्यकर्ताले ढुङ्गा मुडा गरेको भन्ने जानकारी प्राप्त भएको दाङका प्रहरी प्रमुख एवंम् एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
मेयर पदका उम्मेदवार एवं पूर्व सांसद गिरीले ढुकेर बसेका ४०/५०जनाको संख्यामा रहेका एमालेका कार्यकर्ताले आफूसवार गाडीमा ढुङ्गा मुढा गरेको बताएका छन्।
आक्रमणवाट गाडिको पछाडिको भागको सिसा फुटेको छ । यसैबीच उक्त अवसरमा एमालेका कार्यकर्ताले गाडीलाई लक्षित गरि एक राउन्ड गोलि समेत चलाएको कांग्रेसका युवा प्रदिप गौतमले दाबी गरे। ‘पहिला ढुङ्गा हाने र त्यसपछि पेस्तोलबाट एक राउन्ड फायर गरे,’ गौतमले सेतोपाटीलाई भने। प्रहरीले गाडीमा भएको आक्रमणकारीको पहिचान खुलिसकेकोले उनीहरुलाई अनुसन्धान पछि छिट्टै नियन्त्रणमा लिने आश्वासन दिएको छ।