आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं. ५ अन्तर्गतको दाङमा विभिन्न पार्टीका उम्मेद्वारहरूले मनोनयन दर्ता प्रक्रिया सुरु गरेका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको समय बिहान ८ बजे नै सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारहरुले मनोनयन दर्ता सुरु गरे छन्। आफ्नो कार्यालयको अवस्था हेरेर पार्टीसँग सल्लाह गरेर मनोनयन दर्ताको समय निर्वाचन अधिकृतले गरेको जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्कीले जानकारी दिए।
कुनै ठाउँमा स्वतन्त्र र कुनैमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेसलाई पनि पहिला मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको कार्कीले सेतोपाटीलाई बताए। दाङमा दश स्थानीय तहमा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता प्रक्रिया बिहान ८ बजेदेखि नै सुरु भइरहेको जिल्ला निर्वाचन अधिकारी कार्कीले जानकारी दिए।
दाङको लमही नगरपालिकामा काँग्रेस मेयर पदका उम्मेदवार जोगराज चौधरीका विरुद्ध काँग्रेसकै डिल्लीबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको कार्कीले बताए।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा हालसम्म नयाँ शक्ति पार्टीका मेयर पदका उम्मेदवार जीवन भण्डारीले मात्रै आफ्नो मनोनयन दर्ता गराएका छन्। त्यस्तै यो खबर तयार पर्दा घोराही उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय जनमोर्चाका रामबहादुर घर्तीले मात्रै मेयर पदमा मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्कीले जानकारी दिए।
तुलसीपुर र घोराही गरि दुई उपमहानगरपालिका, लमही नगरपालिका र थप सात गाउँपालिकामा निकै उत्साहप्रद रुपमा मनोनयन दर्ता सुरु भएको कार्कीले बताए। दलहरु विभिन्न झाँकी र जुलुसहरुका साथ मनोनयन दर्ताका लागि आएको कार्कीले जानकारी दिए। दाङमा २७ दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् भने त्यसमध्ये १६ वटा दलहरुले मात्रै राष्ट्रिय दलको रुपमा दर्ता भएका छन्।
दाङमा १६ दलहरुले मात्रै आफ्नै निर्वाचन चिन्ह मार्फत निर्वाचन लड्न पाउने र अन्य सबैले स्वतन्त्र चिन्ह मार्फत निर्वाचनमा लड्ने जिल्ला निर्वाचन अधिकृत कार्कीले बताए।
दाङमा १ सय ५१ मतदान स्थल र ३ सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । २ लाख ९१ हजार १ सय ७३ मतदाता छन्। दाङको दश स्थानीय तहबाट ५ सय २० जना प्रतिनिधि चुनिने छन् । त्यसमा झन्डै आधा संख्या महिलाको हुनेछ । वडा तहवाट मात्रै २०० महिला दाङबाट निर्वाचित हुनेछन् । प्रमुख पदहरुमा ५० प्रतिशत महिला अनिवार्य गरिएकोले आधा संख्या महिलाको हुने जिल्ला निर्वाचन अधिकारी कार्कीले बताए ।
सुरक्षा प्रवन्ध कडाः एसपी सिंह
मनोनयन दर्तालाई मध्यनजर गर्दै दाङको सुरक्षा प्रवन्ध अघिपछि भन्दा निकै कडा पारिएको छ। प्रत्येक निर्वाचन अधिकृतको कार्यालय आसपासमा ५० देखि एक सय जनासम्म सुरक्षाकर्मी खटाइएएको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
दाङका दश स्थानीय तह मध्ये सम्वेदनशिलता मध्यनजर गर्दै कतै त्यो भन्दा पनि बढी संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको एसपी सिंहले बताए। १४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै कुल ४ सय जति सुरक्षाकर्मी दाङमा सहयोगका लागि आउने जानकारी दिएका एसपी सिंहले हालसम्म २०० जना सुरक्षाकर्मी सहयोगका लागि आसपासका जिल्लाबाट दाङ आइसेकेको बताए ।
विप्लवका दुई कार्यकर्ता पक्राउ
यसैबीच एसपी सिंहले मनोनयन दर्ता गर्न नजान भनि उम्मेदवारलाई फोनमार्फत धम्कि दिने विप्लवका कार्यकर्ता सुरज विकलाई दाङको भालुवाङबाट आइतवार विहान पक्राउ गरिएको बताए। उनले शान्तिनगरबाट निर्वाचन सामाग्री लुट्ने नेपाल कम्यूनिष्ट पार्टीका घोराही नगर सेक्रेटरी जनक विकलाई समेत पक्राउ गरिएको बताए ।
६ जना युवा पक्राउ
यसैबीच दाङका ६ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। अपराधिक पृष्ठभूमी भएका , यसअघि विभिन्न घटनाहरु घटाएका, गुन्डागर्दी गर्दै आएका, ग्याङ फाईट गर्दै आएका, मसल र पावर देखाउँने ६ जना युवाहरुलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
गुन्डागर्दी आएका ६ जना युवाहरु मध्ये केहीले उम्मेदवारलाई धम्कि दिएको भन्ने गुनासोको आधारमा उनीहरुलाई नियन्त्रणमा लिनु परेको एसपी सिंहले बताए । पक्राउ परेका युवाहरुलाई निर्वाचन सम्पन्न भएपछि मात्रै छोडिने बताएका उनले निर्वाचन विरोधी गतिविधि हुन नपावस भनेर उनीहरुलाई पक्राउ गर्नु परेको बताए ।