कविता : प्रश्न


आफ्नै छाती चुसाएर

आफ्नै यौवन त्यागेर

आफ्नै गाँस काटेर

आफ्नै सपना मारेर

आफ्नै चाहना जलाएर

बडो जतनले स्याहारेको धर्ती पुत्र

जुङ्गाका रेखी बस्दै जाँदा

शरीर पहलमान झै बन्दै जाँदा

बिर्सिएर धर्तिको ममता

बिर्सिएर आफ्नै बाललिला

बिर्सिएर धर्म ,कर्तब्य र उत्तरदायित्व

बिर्सिएर धर्तीको स्वामित्वमा रहेको अस्तित्व

अन्धो बन्छ धर्ती पुत्र

क्षणिक कामाग्नी निभाउन

र , धर्ती माथी निर्लज्ज घोप्टिन्छ

लछारपछार पार्छ

धर्तिको आकाश

धर्तिको छाति

धर्तिको  शरीर

समग्र धर्तीलाई लछारपछार पारेर

धर्तीकै कोख भित्र

स्खलित हुन्छ धर्ति पुत्र

 

धर्तीकै शरीरबाट निस्किएको बाल धर्ति पुत्र

कुनै दिन कुपुत्र हुन्छ भनेर

बिचरी धर्तीलाई कहाँ थाहा थियो र ?

यदि थाहा हुदो हो त

कुनै पनी धर्ती बंश धान्ने मोहमा मन्दिर धाउदिन थिइन्

भोकभोकै ब्रत बस्दिन थिइन्

कुनै दिन ` काले कृष्ण ´को मुटु पनि

`कँशिय´ बन्छ भन्ने कुरा धर्तीलाइ थाहा हुदो हो त

कँशिय कोख निमोठी दिन्थिन !

तर न त धर्ती भविस्यवेत्ता हुन

न त भगवान

 

म अर्कि धर्ती अर्थात धर्ती पुत्री

सोध्छु आज एउटा प्रश्न

पुत्र स्वरुप अविवेकी कुपुत्रलाई  ,

कब्जियत हुँदा धर्तीले कनेर निकालेको ` गु ´ जस्तै

कनेर निकालेको ए ! धर्ती पुत्र

बल र बैँस पसे पछी आफैलाइ

विवेकी ठान्ने ए ! अविवेकी कुपुत्र

निभाए पछि तेरो कामाग्नी

पस्चातापको आँसुले पोल्छ कि पोल्दैन

तलाइ कुनैदिन भन त ?

नोट : कविताले केवल ती पुत्रहरुलाई सम्बोधन गर्छ जो बिकृत मनोबिज्ञान युक्त छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.