काशीप्रसाद चौधरीको बाल्यकाल जसरी बित्यो, त्यो सम्झिने हो भने उनले हासिल गरेको प्रगति पत्याउन मुस्किल पर्छ।
उनी लमही नगरपालिका–२ का वडासदस्य हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार भएर लगातार दुई कार्यकाल निर्वाचित भए। अब एकपटक वडाध्यक्ष जितेर गाउँठाउँको सेवा गर्ने उनको इच्छा छ।
तर यो काशीको राजनीतिक परिचय मात्र हो। उनले जिन्दगीमा हासिल गरेको प्रगतिको कथा अर्कै छ, जुन योभन्दा निकै ठूलो छ।
केरूनिया गाउँका ५५ वर्षीय काशीको बाल्यकाल कमैयाका रूपमा बितेको थियो। जमिनदारको घरमा हुर्के–बढेका उनले जिन्दगीमा धेरै हन्डर–ठक्कर खाए। कमैया बस्दा बिहानदेखि बेलुकीसम्म जमिनदारको खटनपटन सहनु उनको नियति थियो।
आज उनै काशीलाई सबैले सफल कृषकका रूपमा चिन्छन्। उनीसँग पर्याप्त जग्गा–जमिन छ। वडा कार्यालय नजिकै दुई बिघा खेत छ। त्यसबाहेक थप आठ बिघा खेत जोडेका छन्। उनको जिन्दगीमा अब जमिनदारको खटनपटन चल्दैन। आफ्नो जिन्दगीको खटनपटन उनी आफै गर्छन्।
काशीले गाउँमै चामलको सेलर मिल राखेका छन्। उनको आफ्नै ट्रयाक्टर छ। कुखुरापालन छ। आठ हजारजति कुखुरा फार्ममा हुर्किरहेका छन्। उनका छोराछोरी जापानमा उच्च शिक्षा पढ्दै छन्।
सबैलाई आश्चर्य लाग्ने कुरा त के भने, काशीले यी सबै प्रगति कृषिबाट हासिल गरेका हुन्।
मान्छेको जिन्दगी संयोगै संयोगको सँगालो हो। संयोगले जुराएको बाटोमा परिश्रमको पसिना बगाउनेलाई सफलताको चुली छुनबाट कसैले रोक्न सक्दैन।
काशीको जिन्दगीमा पनि त्यस्तै संयोग जुर्यो, आजभन्दा २२ वर्षअघि।
यो २०६० सालको कुरा हो। त्यति बेला काशीको परिवारले जमिनदारको जग्गामा अधियाँ खेती गरिरहेको थियो। त्यसबाट हुने उब्जनीले वर्षदिन खान पनि पुग्थेन। काशी आफ्नो जिन्दगीबाट सन्तुष्ट हुन सकेका थिएनन्।

'त्योभन्दा ६ वर्षअघि नै तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले पुरानो चिनजानका आधारमा मलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्नुभएको थियो,' काशीले सुनाए, 'त्यो जागिरले आकर्षित नगरेको होइन। काम के हो, तलब कति पाइन्छ भनेर सोधखोज गरेको थिएँ।'
पछि उनले सोचे – म खेतमा जन्मेँ, खेतमै हुर्केँ, माटोमा लुट्पुटिँदै मेरो बाल्यकाल बित्यो। जागिरले मलाई पैसा त देला, खुसी दिन सक्दैन। मेरो खुसी माटोसँग जोडिएको छ, कृषिसँग जोडिएको छ।
'यही सोचेर राष्ट्रिय अनुसन्धान विभागको जागिर खान गइनँ,' उनले भने।
खेतमा काम गरेर हुर्केका उनी बाल्यकालदेखि नै खाइलाग्दो ज्यानका र मेहनती थिए। उनलाई कृषिबाटै उन्नति गर्छु भन्ने आत्मविश्वास थियो। त्यही भएर उनले पूर्णकालीन कृषक बन्ने निधो गरे।
यो उनको जिन्दगीको पहिलो संयोग हो।
त्यसपछि दोस्रो संयोग जुर्यो २०६० सालमा, जब सालभर पसिना बगाउँदा पनि खान नपुग्ने नियतिले उनी दिक्क भएका थिए।
हो, त्यही बेला काशीले जमिनदारको खेतमा अधियाँ होइन, अलि फरक ढंगले खेती गर्ने निर्णय लिएर १४ कट्ठा जग्गा भाडामा लिए। त्यसमा उनले व्यावसायिक तरकारी खेती सुरू गरे।
त्यो तरकारी खेती नै काशीको जिन्दगीलाई आजको स्थितिसम्म ल्याइपुर्याउने 'टर्निङ प्वाइन्ट' बन्यो।
'तरकारी खेतीबाट मैले छोटो समयमै निकै राम्रो आम्दानी गरेको थिएँ। त्यो बेला मेरो भाग्य र मेहनत एकैचोटि ठाउँमा परेजस्तो लाग्छ,' काशीले भने, 'तरकारी खेतीकै आम्दानीबाट मैले प्रतिबिघा ८० हजार रूपैयाँका दरले दुई बिघा जग्गा किनेँ।'
यो सफलताबाट काशीको उत्साह र आत्मविश्वास हलक्कै बढ्यो।
जति दु:ख परे पनि मान्छेले जिन्दगीबाट हार खाएन भने एकदिन प्रगति अवश्य हुन्छ भन्ने विश्वास जाग्यो।


त्यही बेला उनको जिन्दगीमा तेस्रो संयोग जुर्यो, जब देउखुरीमा प्रगन्ना सिँचाइ आयोजना सुरू भयो। उक्त आयोजनाका लागि बाराबाट आएका कर्मचारी रामेश रैसाले काशीलाई आधुनिक खेतीमा लाग्न प्रेरित गरे।
रामेशकै प्रेरणाबाट काशीले परीक्षणका रूपमा लगाएको धान र चैते मकैले अनपेक्षित परिणाम दियो। उनको उत्पादन देखेर गाउँलेहरू नै चकित खाए।
'तरकारी खेतीले मलाई आफ्नो खुट्टामा उभिने आधार दियो भने रामेश सरले सिकाउनुभएको आधुनिक खेतीले मलाई दौडिन सिकायो,' उनले भने, 'त्यही भएर म रामेश सरलाई कृषिको गुरू मान्छु।'
नमानून् पनि किन, त्यसपछिका दिनमा काशीले पछाडि फर्केर हेर्नुपरेको छैन।
तरकारी र मकैको व्यावसायिक खेतीबाट उनले मनग्य आर्जन गरेका छन्। गाउँमा वसन्ते मकै खेती सुरू गर्ने नै काशी हुन्। अहिले पनि उनले आफ्नो सात बिघा जमिनमा वसन्ते मकै लगाएका छन्। यसपालि कम्तीमा तीन सय क्विन्टल (३० हजार किलो) मकै उत्पादन हुनेमा विश्वस्त छन्। यो बढीमा ३७५ क्विन्टलसम्म हुन सक्छ।
गत वर्ष उनले १२ लाख रूपैयाँको वसन्ते मकै बेचेका थिए। हिँउदे मकै पनि त्यत्तिकै बेचे।
अहिले दाङको लमही नगरपालिका–२ मा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले 'मकै सुपर जोन कार्यक्रम' लागू गरेको छ। यसमा संलग्न धेरै किसानमध्ये काशी पनि एक हुन्। यो कार्यक्रम लागू भएपछि गाउँका अरू किसान पनि वसन्ते मकैमा आकर्षित भएका छन्। यस वर्ष वडा नम्बर २ मा मात्र ८२५ बिघामा वसन्ते मकै खेती भएको छ।
तरकारी र मकैका अतिरिक्त काशी बेला बेला अरू खेतीमा पनि हात हाल्छन्। केही वर्षअघि केरा खेती गरेका थिए। उत्पादन पनि राम्रै भएको थियो। तर बिचौलिया व्यापारीहरूका कारण घाटा खानुपरेपछि उनी केरा खेती छाडेर मकै र धानमै फर्के।

केरा खेती गर्दा बिचौलियाको मार खेप्नुपरेपछि काशीसहितको पहलमा 'समुन्नति सामाजिक उद्यमी महिला सहकारी' सुरू गरिएको छ। अहिले गाउँका सहकारी सदस्यहरू आफ्ना कृषि उत्पादन यही संस्थामार्फत् बेच्छन्।
संस्थाका व्यवस्थापक सुरजलाल चौधरीका अनुसार यो वर्ष सहकारीमार्फत् तीन हजार क्विन्टल हिउँदे मकै बिक्री भयो। त्यसबाट १ करोड १३ लाख ८५ हजार रूपैयाँ गाउँमा भित्रियो।
त्यसबाहेक यस वर्ष १ करोड ३० लाख रूपैयाँको वसन्ते मकै बिक्री भइसकेको छ। अझै केही किसानले बेच्न बाँकी छ। गत वर्ष ६५ लाख रूपैयाँको धान र ३ लाख ८५ हजार रूपैयाँको तरकारी बिक्री भएको थियो। खसीबोका बेचेर पनि ९५ लाख रूपैयाँ आएको उनले बताए।
खेतीबाट आम्दानी बढ्दै गएपछि काशीको मुख्य जोड जग्गा थप्नमै रह्यो। त्यसबाहेक छोराछोरीको शिक्षामा पनि ध्यान दिए।
काशीको सफलता देखेर केरूनियाका कृषक उनलाई 'जिरोबाट हिरो भएको मान्छे' भन्छन्। दाङका स्कुल र कलेजका कक्षाकोठामा शिक्षकहरूले 'प्रेरक पात्र' का रूपमा उनकै नाम लिन्छन्।
'शिक्षकहरू मेहनतको फल कस्तो हुन्छ भन्ने थाहा पाउन काशीलाई हेर्नू भनेर विद्यार्थीलाई भन्दा रहेछन्,' उनले भने, 'म पनि गाउँका विद्यार्थीलाई मेहनत गरेर पढ्नू, अनि आफ्नो रूचिको क्षेत्रमा लगनशील भएर काम गर्नू भनेर सम्झाउँछु।'
उनलाई आफूले स्कुल गएर राम्ररी पढ्न नपाएकोमा थकथकी पनि छ।

जम्मा आठ कक्षा पढेका उनी भन्छन्, 'जमिनदारको घरमा काम गरेरै मेरो बाल्यकाल बित्यो। चाहेर पनि पढ्न पाइनँ। त्यही तोडमा मैले आफ्ना छोराछोरीको पढाइसँग कहिल्यै सम्झौता गरिनँ। अहिले उनीहरू उच्च शिक्षा लिन जापान गएका छन्। उनीहरूको सफलता देखेर मेरो छाती चौडा हुन्छ।'
काशीले खेतीमा आधुनिक प्रविधिको प्रयोग बढाउन राष्ट्रिय स्तरमा पहल हुनुपर्ने आवश्यकता देखेका छन्। सरकारले गाउँ गाउँमा प्राविधिक खटाएर कृषकहरूलाई व्यावहारिक तालिम दिनुपर्छ भन्ने उनको सुझाव छ।
'आधुनिक तरिकाले खेती गर्ने हो भने कृषिबाट प्रशस्त आम्दानी लिन सकिन्छ। यो म अर्काको देखेर होइन, आफ्नै अनुभवले भन्दैछु,' काशीले भने।
आधुनिक प्रविधिबाहेक कृषकहरूलाई आर्थिक सहयोगको पनि खाँचो रहेको उनी बताउँछन्।
'मैले अहिलेसम्म राज्यबाट कुनै प्रकारको अनुदान सहयोग लिएको छैन। वडासदस्य भएपछि त झन् आफैले अनुदान लिन पनि उचित लागेन,' उनले भने, 'म आफू त गर्न सक्ने क्षमतामा पुगिसकेँ। दरो उभिएको किसान भइसकेँ। भविष्यमा पनि राज्यबाट सहयोग लिनुपर्छ जस्तो लाग्दैन। तर यहाँ धेरै किसान यस्ता छन्, जसलाई राज्यको सहयोगको खाँचो छ। तालिमको खाँचो छ। सरकारले उनीहरूलाई ध्यान दिनुपर्छ।'
***