सुन्दर बगैँचामा सबै जस्तै
फुल्न खोजेथेँ धेरै पटक
रङिन फूलहरूका बिचमा
रम्न खोजेथेँ उस्तै गरी
बेमौसमको आँधीले
चकनाचुर भए सपनाहरू
समेट्न नपाउँदै आफैँलाई
छरपस्ट सबै सम्बन्धहरू
बटुलेर अँगालोभरि
साहस र ऊर्जा थपिदिने
मायालु भाव भरिदिने
भन न, तिमी को हौ?
बालेर आशाको दियो
जगाएर चेतनाको बत्ती
बिसाउन खोज्दा मन कतै
सधैँ लखेटिएकी म
कहिल्यै नपाएको साथका बिच
समेटेर अँगालोमा
बनेर शीतल छहारी
आकाश बनिदिने
भन न, तिमी को हौ?
डगमगाएको विश्वासमा
मखमली सम्झना बुनेर
उजाडिएको मातृभूमि
हराभरा बनाउने सपना
पोल्टाभरि समेटेर
सकी नसकी उकालो लाग्दा
उस्तै चाहना बोकेर
डिलाको चौतारीमा सुस्ताउने
भन न, तिमी को हौ?
सुन्दर सृष्टिको सिर्जनामा
प्रेमको दैलोमा स्नेहले लिपेर
आफ्नै अस्तित्वको खोजीमा
हतासिएको मनलाई
एक थुँगो गुलाफले
सजाइदिने भगवान् जस्तै
भन न, तिमी को हौ?
बसिदिने मनैभरि
भन न, तिमी को हौ?
म भित्रै मलाई नै खोजिदिने
भन न, तिमी को हौ?