लोग्ने मान्छे रुँदैनन्
अहँ! लोग्ने मान्छे रुँदैनन्
किन रुन्थे र लोग्ने मान्छे?
उनको पीडा सायद पीडा होइन
उनको चोट सायद चोट होइन
त्यसैले त होला—
लोग्ने मान्छे रुँदैनन्।
उनको त्यो रुवाइलाई तिमीले रुवाइ नभन
उनका पोखिएका ती आँसुलाई तिमीले आँसु नभन
ती त केवल कसिङ्गरले बर्साएको पानीका थोपा हुन्
अहँ! साँच्चै—
लोग्ने मान्छे रुँदैनन्।
उनको मुटु भित्रका पीडालाई
उनीहरू मुठ्ठीभित्र कैद गर्छन्
केही भए पनि
केही नभएजस्तो अभिनय गर्छन्
विगतका ती घाउहरू बिर्सिन खोज्छन्
आफैलाई सम्झाउँछन्
तर पनि—
लोग्ने मान्छे रुँदैनन्।
किन रुन्थे र लोग्ने मान्छे?
पीडाको अदृश्य बोझ बोकेर
अन्तरको ज्वालामुखी रोकेर
झुकेको शिर उठाउँदै
भित्रभित्रै विचलित हुन्छन्
तर पनि—
लोग्ने मान्छे रुँदैनन्।
अहँ! लोग्ने मान्छे रुँदैनन्
किन रुन्थे र लोग्ने मान्छे?
अन्त्यमा—
न त उनीहरू हार स्विकार्छन्
न त कसैसँग सहानुभूति माग्छन्
भित्रभित्रै टुक्रिए पनि
बाहिरबाट अडिग देखिन्छन्
अहँ! लोग्ने मान्छे रुँदैनन्।