जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी, सुनकोशी लगायत नदीको जलाधार क्षेत्रमा मनसुनी वायुको प्रभाव भए पनि कमजोर रहेको बताएको छ।
चीनको प्रहरी कार्यालयबाट अत्यधिक वर्षा हुने भनी पठाएको सूचना भन्दै प्रेषित सार्वजनिक जानकारी प्रति विभागले ध्यानाकर्षण भएको बताएको हो।
‘मिति २०८२ असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यलयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदि आसपास (भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदि आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ भनी मिति २०८२ असार ४ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, चौतारा द्वारा प्रेषित सूचनामा यस विभागको ध्यानाकर्षण भएको छ,’ विज्ञागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भू–उपग्रह तथा मौसम प्रारूपहरूबाट प्राप्त तथ्यांक तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकोले हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
यद्यपि मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई यस विभागले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जाने पनि विभागले बताएको छ।