सोध्यो कसैले तिमीलाई भने
तिमी सफल भयौँ कि बाँकी नै छ सफल हुन
सकियो सङ्घर्ष सपनाको खोजीमा वा
बाँकी नै छ सङ्घर्ष गर्न?
त्यति बेला बाबाको आँखामा
तिम्रो लागि सजाएका सपनाहरू पूरा हुँदा
बाबाका आँखाबाट
परेलीको सँघार नाघेर खसेका ती आँसुले
तिम्रो सफलताको परिभाषा बताउला?
वा तिम्री आमाले आफ्नो दुःख बिर्सिएर
तिम्रो लागि खुसी हुँदा
त्यो आमाको ओठको मुस्कान
साक्षी होला तिम्रो सफलताको?
तिम्रो सफलताले शिखर चुम्दा
तिम्रो जितमा रमाउनेहरू कति होलान्?
सबैको कोलाहल तिम्रो सफलताको खुसीमा होला
वा होलान् कोही त्यस्तो पनि
जो जलिरहेको हुनेछन् तिम्रो सफलताले
तर लुकाउलान् त्यो जलन हाँसोको आडमा
तिमीले सबै पाएभन्दा केही गुमायौँ भने?
आफ्नो बनाउन खोज्दा सबैलाई आफू नै हरायौ भने?
तर के तिम्रा लागि अरूले सजाएको सपना
तिम्रो सपनासँग मेल खालान्?
कि फरक छन् तिम्रा सपनाहरू
अरूले तिम्रा लागि सजाएका सपनाभन्दा?
तिमीले पूरा गरेका केही थान सपनाहरू
तिम्रो खुसीको कारण बन्न सकेनन् भने?
पूरा गरेका त्यी सपनाहरू अरूकै सपनामा परिणत
भएपछि पूरा गर्न नसकेका
तिम्रा सपना
तिम्रो आँखा नधुलमुलाउँदै
कतै सपना नै धुलमुलायो भने
र सोध्यो कसैले तिमीलाई भने
तिमी सफल भयौँ कि बाँकी नै छ सफल हुन
सकियो सङ्घर्ष सपनाको खोजीमा वा
बाँकी नै छ सङ्घर्ष गर्न?
तिम्रो उत्तर के हुनेछ?