रुपन्देहीको देवदहस्थित मङ्गल पुष्करिणी दहको प्रचारप्रसार एवं प्रबर्द्धनका लागि धार्मिक महोत्सव संचालन गरिएको छ।
यहि चैत्र २१ गतेदेखि संचालन गरिएको धार्मिक महोत्सवमा अहिलेसम्म ६० हजार भन्दा बढिले अवलोकन गरेको मूल आयोजक समिति संयोजक एवं देवदह नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए।
देवदह नगरपालिका वडा नं. ९ घोडाहा पूर्वपश्चिम राजमार्गबाट करिब पाँचसय मिटर उत्तरतर्फ पुगेपछि मङ्गल पुष्करिणी दह पुगिन्छ। वरिपरि प्रगति सामुदायिक वनको घना जंगल बीचमा बाह्रै महिना पानी भरिएर रहने यो दह मानव निर्मित नभएर प्राचीनकालदेखि कै रहेको जानकारहरु बताउँछन्।
बौद्धकालीन समयमा राज्याभिषेकका क्रममा यहि दहमा स्नान गर्ने र प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरुले समेत स्नान गर्ने भएकोले यो दहलाई ‘देव दह’ भनिन्थ्यो।
स्थानीय समेत रहेका देवदहका पुर्व नगरप्रमुख हिरा बहादुर केसी यहि दहको नामबाट अहिलेको देवदह नाम रहन गएको बताउँछन्।
पहिले देव दह भनिने यस दहमा विभिन्न रङ्गमा कमलका फुल फुल्ने भएकोले बौद्ध धर्ममा मङ्गलपुष्करिणी भन्न थालिएको उनले दावी गरे। हरियाली जंगलको बीचमा रहेकोले बौद्ध ग्रन्थहरुमा यसलाई ध्यान, शुद्धता र साधनाको लागि उपयुक्त स्थलका रुपमा पनि वर्णन गरिएको बताईन्छ।
धार्मिक मान्यताअनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो। बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ।
देवदह गौतमबुद्धको मावली क्षेत्र भएकोले यसले ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको छ। प्रगति सामुदायिक वनभित्र रहेको यहि दहमा गौतम बुद्धले नुहाएको यस विषयमा अध्ययन गरेकाहरु दावी गर्छन्।
यद्यपि यसबारेमा लिखित प्रमाण भने कतै भेटिएको छैन। प्राचिन इतिहासबारे जानकार राख्ने युवराज कँडेल गौतमबुद्ध आफ्नो मावली देवदहको भवानीपुर जाँदा आउँदा पौडी खेलेको हुनसक्ने भएपनि त्यसको लिखित प्रमाण नभएको बताउँछन्।
‘देवदह बुद्धको मावली हो, त्यहाँ उनी आएको, विभिन्न विषयमा प्रवचन दिएको पाइएको छ, त्यो समय त्यहाँ दहको स्रोत रहेकाले त्यहाँ गएको र अहिले पनि दहकै आकारमा रहेको छ’, उनले भने, ‘यसको इतिहासको अझै खोजी गर्न सके महत्व अझै बढ्नेछ, तर राजमार्ग नजिकै भित्रैबाट पानीको मूल फुटेर यति ठूलो प्राचीन दह रहनुले यसको महत्व अझै बढी छ, यसलाई संरक्षण गर्न जरुरी छ,’ उनी भन्छन्
अहिले सोही दहको प्रचारप्रसार र प्रवर्द्धनका लागि भन्दै मङ्गल पुष्करिणी धार्मिक महोत्सव संचालन गरिएको हो।
देवदह वडा नं. ९ का वडा अध्यक्ष मोहन जीसीले ‘देव दह’ को संरक्षणसँगै छाडा चौपायाको व्यवस्थापन र स्थानीय सन्दिप आधारभूत विद्यालय व्यवस्थापनको लागि रकम संकलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।
महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएका छन्। देवदह नगरपालिका संरक्षक तथा प्रगति सामुदायिक वन सहआयोजक रहेको धार्मिक महोत्सवमा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्।
महोत्सवबाट संकलित रकम छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गरिने वडा अध्यक्ष जिसीले बताए। धार्मिक महोत्सव अन्तरगत देव दहमा दीप प्रज्ज्वलन गरिएको छ।
धार्मिक महोत्सवको अवसरमा प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको छ।
-1744261399.jpg)
-1744261400.jpg)
-1744261400.jpg)
-1744261400.jpg)
-1744261400.jpg)
-1744261399.jpg)