नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले माघ २९(फेब्रुअरी ३) देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एसियाले उडान नियमित गर्ने बताएका छन्।
मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यी दुई एयरलाइन्सले फेरि नियमित उडान गर्ने बताएका हुन्।
भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए।
महानिर्देशक अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको छ।
विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताए।
विदेश जानेहरूका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्न सके भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए।
'पोखरा र भैरहवाको कुरामा अब सरकारले पनि यो कार्ययोजना पास गरेर विभिन्न क्षेत्रको कार्यक्रमहरू लिएर आएको छ। यसमा हामीले पाँच वटाको फ्लाइट भयो। अहिले त्यहाँ नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेका छन्,' महानिर्देशक अधिकारीले भने, 'जजिरा र थाइले फेब्रुअरी ३ देखि नियमित गर्ने कुरा छ।'