अन्तर्राष्ट्रिय पर्यटन मेला 'फितुर २०२५'मा सहभागी हुनका लागि नेपाली टोली स्पेन प्रस्थान गरेको छ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को नेतृत्व र नेपाल पर्यटन बोर्डको सहकार्यमा म्याड्रिड, स्पेनमा आयोजना हुने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर फितुर २०२५ मा सहभागी हुन उक्त टोली सोमबार प्रस्थान गरेका हुन्।
२५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायका कम्पनीहरूबाट ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको यस टोलीको नेतृत्व नाट्टा अध्यक्ष कुमारमणि थपलियाले गरेका छन्।
मेला चार दिन (जनवरी २२ देखि २६)सम्म आयोजना चल्नेछ।
नेपालका लागि महत्त्वपूर्ण मानिने युरोपेली बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न यो सहभागिता विशेष रूपमा लक्षित गरिएको छ।
विगतका वर्षहरू जसरी नै बोर्ड र नाट्टाको संयुक्त सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूको यस मेलामा सहभागी हुन लागेका हुन्।
अघिल्लो वर्ष २०२४ को संस्करणमा भने आन्तरिक समस्याका कारण बोर्ड पर्यटन मेलामा सहभागी भएको थिएन।
नाट्टा अध्यक्ष कुमारमणि थपलियाले फितु जस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिताले नेपालको पर्यटनलाई विश्वभर चिनाउन अत्यन्त महत्त्वपूर्ण रहने बताए।
यस्ता कार्यक्रमले पर्यटन बजार विस्तार गर्न, नयाँ साझेदारहरूसँग सम्पर्क स्थापित गर्न र नेपाललाई एउटा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउने उनको भनाइ छ।
'नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिता आवश्यक छ,' उनले भने, 'नेपालका ट्राभल, ट्रेकिङ र होटल व्यवसायीहरूको सशक्त उपस्थिति यस मेलामा देखाउनु हाम्रो प्राथमिकता हो र यस पटकको सहभागिताले युरोपेली बजारमा हाम्रो पहिचान अझ मजबुत बनाउन विश्वस्त रहेको छुु।'
यो मेला विश्वका सबैभन्दा ठूलो ट्राभल ट्रेड फेयरहरू मध्ये एक हो, जसमा १ लाखभन्दा बढी पर्यटकीय उद्योग व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
युरोपेली बजार नेपाल पर्यटनको प्रमुख स्रोत बजार हो, र यस क्षेत्रमा नेपालको सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको सम्भावना अत्यधिक रहेको छ।
नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय स्राेतहरूलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेलाहरू महत्त्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएका छन्।
नाट्टा र नेपाल पर्यटन बोर्डको सहकार्यले नेपालको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ।