होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ।
गत वर्षबाट सुरू गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए।
अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धि, सामना गरिएका चुनौतीहरू र भावी दिनको योजना तथा कार्यक्रमको प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुनसक्ने सम्बृद्धिको लेखाजोखा हुने बताए।
अध्यक्ष शाहले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजार भन्दा बढी होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेको, १ लाख १६ हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरूले २२ लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको छ भन्दै तथ्यांकले देखाएको समेत बताए।
उनका अनुसार प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहप्रवर्द्धक आपूर्तिको स्थिति इंगित गर्छ।
त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको जानकारी दिए।
'अस्तव्यस्त राजमार्ग भएर १०/१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरु खप्न तयार देखिँदैनन्,' उनले भने, 'गत वर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरू रही रहेकोले समस्या झन् बढेको छ।'
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरुलाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरू यकीन हुने कार्यक्रम ज्यादै महत्त्वपूर्ण रहेको बताए।
मन्त्री पाण्डेले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागि परेको जानकारी दिए।
उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आइरहेको पनि बताए।
संघका वरिष्ठ उपाध्यक्ष प्रविण बहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा साना होटलहरूले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउने बताए।
यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको जानकारी दिए।
उपाध्यक्ष पाण्डेले होटल र लजहरु दर्ता बिना नै चलिरहेको बताउँदै यसबाट राज्यले ठूलो राजस्व गुमाउनु परेको बताए।
साथै राज्य र विभिन्न संघसंस्थाहरुबाट गरिएको विश्वव्यापी प्रवर्द्धनबाट नेपाल भित्रिएका पर्यटकहरू दर्ता नभएका होटल लजमा बस्दा यस संघमा कानुनी दायरामा रही दर्ता सञ्चालनमा रहेका होटलहरूलाई अन्याय भएको समेत उनको भनाइ छ।
यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्ने समेत प्रष्ट पारे।
साधारणसभाले संघलाई सातै प्रदेश र ७७ जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेको छ।
कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो।