संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन्।
एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको बताए।
'जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन्। हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ,' कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भने।
उनले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनु पर्ने समेत बताए।
उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्व जगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघ समेत चिन्तित हुनु पर्नेमा जोड दिनुपर्ने बताए।
साथै उनले नेपाल विविधता पूर्ण संस्कृति र प्रकृतिले भरिपूर्ण रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि 'अथितिदेवो भव'को मन्त्रलाई आत्मसात गर्दै अघि बढ्न अनुरोध गरे।
अवार्ड कार्यक्रममा १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियाे।