अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक ठाउँको सूचीमा नेपालको लुम्बिनी परेको छ।
न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट ५२ गन्तव्य भनेर सार्वजनिक गरेको सूचीमा नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखेको छ।
न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त चर्चा पनि गरेको छ। त्यसमा हजारौं वर्ष पहिले मायादेवीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतम बुद्धलाई जन्म दिएको र लुम्बिनी त्यसबेलादेखिको प्राचीन भग्नावशेष रहेको र बौघ केन्द्रहरूले भरिएको तीर्थस्थल बनेको भनिएको छ।
भूकम्पले हल्लाकएको १० वर्षपछि, नयाँ मन्दिर र ध्यान केन्द्रहरू खुलिरहेका भनेर संक्षिप्त परिचयमा लेखिएको छ। त्यसमा नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेण्ड टेम्पल’बारे पनि चर्चा गरिएको छ।
थाउजेन्ड टेम्पल तिब्बती शैलीको संरचना हो जहाँ बुद्धका तीनवटा १६ फिट अग्ला मूर्तिहरू र १,००० भन्दा बढी अन्य बुद्ध मूर्तिहरूले सजाइएको छ भनेर पनि परिचयमा लेखिएको छ।
न्यूयोर्क टाइम्सको उक्त सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन छ। भारतको आसाम चौथो स्थानमा छ।