धर्मराज घिमिरे होटल क्षेत्रमा जमेको ३१ वर्ष पुग्यो। पछिल्लो समय उनी 'बबई रिसोर्ट' चलाउन व्यस्त छन्। करिब एक अर्ब लगानीको यो रिसोर्ट बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९, ठाकुरद्वारामा छ।
यहीनजिक धर्मराजको 'राइनो लज' पनि छ जुन २०५० सालमा खुलेको हो। यसमा २५ करोड रूपैयाँ जति लगानी भएको धर्मराजले बताए।
धर्मराजको पुर्ख्यौली घर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ मा हो। चितवन पर्यटकीय नगर भए पनि धर्मराजलाई बर्दिया बढी महत्त्वपूर्ण लाग्छ, प्यारो लाग्छ। यहाँ राम्रो सम्भावना देखेरै आफ्नो पहलमा परिवारले लज खोलेको उनले बताए।
'म प्रकृतिप्रेमी हुँ। यो सुन्दर बर्दिया आएपछि मलाई कतै जान मन लागेन,' ५५ वर्षीय धर्मराजले भने।
बर्दिया मनपरेकै कारण उनले यहाँ लज र रिसोर्टमा गरी करिब सवा अर्ब रूपैयाँ लगानी गरेका छन्।
उनको परिवार पहिल्यैदेखि होटल क्षेत्रमा थियो। सौराहामा उनीहरूको 'जंगल सफारी लज' छ। दाजु हरिभक्तले चलाइरहेको यो लजको व्यवस्थापन पछिल्लो समय भतिज सुमनले हेरिरहेको धर्मराजले बताए।
बर्दिया मनपराउने धर्मराजले भने अंशबण्डामा पनि राइनो लज नै मागे। यसैको कमाइबाटै ६ वर्षपहिले उनले बबई रिसोर्ट खोलेका हुन्। सो क्षेत्रमा उनको रिसोर्ट अहिले चर्चितमध्ये एक मानिन्छ।
धर्मराज जंगल सफारी लजमै हुर्के। सानैदेखि त्यहाँ काम गरे। कक्षा ४ पछि त नियमित स्कुल पनि नगई काममा रमाउन थाले। उनी भाँडा माझ्ने, वेटर, कोठा मिलाउने जस्ता सबै काम गर्थे। आएका पाहुनाबाट टिप्स पनि पाउँथे। पर्यटकसँग टुटेफुटे अंग्रेजी बोल्न सिक्दै गए। बोल्न नजान्दा इशाराले काम चल्थ्यो।
'विदेशी पाहुना देख्दा र उनीहरूसँग कुरा गर्न पाउँदा निकै रमाइलो लाग्थ्यो,' धर्मराजले सम्झिँदै भने, 'म पनि सानै भएकाले पाहुनाहरूले निकै माया गर्थे।'
नियमित स्कुल नगए पनि २०४३ सालमा धर्मराजले एलएलसी पास गरे। यसपछि उनलाई थप पढ्न मन लागेन।


सानैदेखि काममा खटिएका उनी मेहनतमा विश्वास गर्थे। धेरथोर भए पनि आफैले कमाउन थालेको निकै समय भइसकेको थियो। त्यसैले उनले सोचे — पढ्ने भनेको पैसा कमाउन हो। जागिरभन्दा त आफै व्यवसाय गरेर धेरै कमाउन सक्छु!
उनले होटल नै चलाउने सोचे। परिवारका सदस्यले पढ्नमै जोड दिए। धर्मराज हलचल भएनन्। आफ्नो लक्ष्यमा लागिरहे।
धर्मराजलाई कामको राम्रो अनुभव भइसकेको थियो। अंशबण्डामा पाएको राइनो लज उनले राम्रो चलाए। सुरूमा १५ कोठाको लज क्रमशः विस्तार गर्दै ३३ कोठाको बनाए।
पर्यटकीय क्षेत्र ठाकुरद्वारामा पर्यटक आगमन राम्रो भएकाले धर्मराज थप काम गर्न चाहन्थे। २०७२ सालको भूकम्पपछि उनले त्यहीँ २९ कट्ठा जमिन किने। सुरूमा २५ करोड लगानी गरी ४० कोठाको बबई रिसोर्ट बनाए।
२०७६ सालमा खुलेर रिसोर्ट चल्दै मात्र थियो, कोरोना महामारी फैलियो। सबै ठप्प भयो।
'अब के गर्ने, कसो गर्ने भनेर अप्ठ्यारो समय थियो त्यो। तर सजिला दिन आउँछन् भन्नेमा ढुक्क थिएँ। त्यसैले समय सदुपयोग गर्दै रिसोर्ट विस्तारमा लागेँ,' धर्मराजले भने, '२६ वटा कोठा थपेँ।'
कोरोनाको दोस्रो लहरसम्म त पर्यटन क्षेत्र धराशायी नै भइसकेको थियो। धर्मराजलाई कर्मचारीको तलब व्यवस्थापनमा मुस्किल भयो। जेनतेन उनले रिसोर्ट धाने।
'पाँच वर्षसम्म रिसोर्टको विशेषतामा ध्यान दिन पाइएन। जो ग्राहक आए, उनीहरूको इच्छा अनुसार खानाका परिकार पस्कियौं,' उनले भने, 'अब भने नयाँ तरिकाले जाँदैछौं।'
रिसोर्टमा अहिले सय वटा कोठा छन्। प्रांगणभर बोटबिरूवाको हरियाली छ। भवन र सभाहल रैथाने घरको झल्को दिने गरी बनाइएको छ। भित्ताहरूमा बर्दियाको पहिचान झल्किने चित्र कोरिएको छ। सबै उमेर समूहका लागि स्वीमिङ पुल छ। क्याम्प फायर गर्न र आफै पकाएर खान चाहनेका लागि व्यवस्था छ। हरेक शुक्रबार थारू नाच, संगीत प्रस्तुत हुन्छ।
बबई रिसोर्टमा हालसम्म एक अर्ब रूपैयाँभन्दा बढी लगानी भइसकेको धर्मराजले बताए। ४० करोड रूपैयाँ बैंकबाट ऋण लिएका हुन्।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ देखि उनले रिसोर्टको मेनु पनि परिवर्तन गरेका छन्।


उनका अनुसार बबई रिसोर्टको नयाँ मेनुमा स्थानीय परिकार मात्रै समेटिएको छ। यहाँ खानाबाहेक खिरिया, फुलौरा, स्थानीय खोला/नदीका साना माछा, गंगटा, घोंगी, लोकल कुखुरा, हाँसको छोयला, स्थानीय रूपमा पालिएका खसी, बोकाको मासु पाइन्छ। अनदी चामलको पोलेको भातको डल्लो, ढिक्री, अण्डा, सिद्रा माछाको अचार पनि छ।
'रिसोर्टको भान्सामा पाक्ने तरकारी, अचार सबै स्थानीय उत्पादन हुन्छ,' धर्मराजले भने, 'म स्थानीय परिकार ब्रान्डिङ गर्न चाहन्छु। यहाँ आएका विदेशी पर्यटकले पनि रैथाने परिकार पस्किन भनेका थिए। मलाई यो कुरा एकदमै ठीक लाग्यो।'
धर्मराज आफै रिसोर्टमा खट्छन्। सेफसँग बसेर पकाउँछन्, अरूलाई सिकाउँछन् पनि। पछिल्लो समय उनी प्रायः सबै खाना दाउरामा पकाउने अभ्यास गरिरहेका छन्।
बबई रिसोर्टमा एक रात बस्न कोठा अनुसार चार हजार ५ सयदेखि ६ हजार रूपैयाँसम्म पर्छ। यसमा खानाको मूल्य समावेश छैन। खाना मूल्य ५ सय ६५ रूपैयाँ प्रति प्लेटबाट सुरू हुन्छ।
'कतिलाई मेरो रिसोर्ट महँगो लाग्न सक्छ, तर सेवासुविधा अनुसार मूल्य किफायती छ। यहाँका सबै कोठा स्ट्यान्डर्ड छन्,' उनले भने।
बबई रिसोर्टमा हाल ५० जना कर्मचारी छन्।
'१२ जना कर्मचारी श्रवण क्षमता नभएकाहरू छन्,' धर्मराजले भने।
उनका अनुसार अहिले रिसोर्टको समग्र सञ्चालन खर्च मासिक १५ लाख रूपैयाँ हाराहारी छ। मासिक कारोबार ४० देखि ५० लाख रूपैयाँ हुन्छ। हाल उनको रिसोर्ट आन्तरिक पर्यटकले धानिएको छ। थोरै संख्यामा भारतीय र पश्चिमा मुलुकका पर्यटक पनि पुग्छन्।
'अब मासिक एक करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य छ। यसका लागि विदेशी पर्यटक बढ्नुपर्छ,' उनले भने, 'त्यसैले प्रचार प्रसारमा काम गर्ने योजना छ।'