संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५)सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको बताएका छन्।
शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन दशकका लागि कार्ययोजना बनाइरहेको बताएका हुन्। यसअघि घोषणा गरिएको सन् २०२२–०३२ पर्यटन दशक कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न नसकेको उनको भनाइ थियो।
'यसअघि सन् २०२२–२०३२ पर्यटन दशक घोषणा गरिएको भए पनि कार्ययोजना नबन्दा पर्यटक दशक अघि बढन सकेन,' मन्त्री पाण्डेले भने, 'अब पर्यटन दशक २०२५–२०३५ भव्य रूपमा सम्पन्न गर्न कार्ययोजना बनाउने काम भइरहेको छ।'
उनले संघीय पर्यटन मन्त्रीको अध्यक्षतामा बस्ने विषयगत समितिको बैठकमा निजी क्षेत्रलाई समेत सहभागी गराउने काम भइरहेको उल्लेख गरे।
साथै मन्त्रालयले तयार गरेको नागरिक उड्डयनसम्बन्धि नीति मन्त्रिपरिषदबाट पारित भइसकेको, संस्कृति नीति मन्त्रिपरिषदको विधायन शाखामा पुगेको, पर्यटन नीति हवाई नीतिको काम समेत अघि बढिसकेको प्रस्ट पार्दै आगामी हिउँदे अधिवेशनबाट, विधेयकहरु पारित हुने विश्वास गरे।
मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रीपरिषद्कै कार्ययोजना अनुरूप कार्य सञ्चालन भइरहेको समेत बताए।