संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको बताए।
प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनु पर्ने समेत बताए।
नेपाल एयरलाइन्सले समयमै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे।
मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरूमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनुपर्ने बताए।
त्यस्तै उनले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन्।
'कुनै पनि विभागीय कर्मचारीहरू माथि पूर्वाग्रह छैन। कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु,' मन्त्री पाण्डेले भने।