संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेसँग भेटवार्ता गरेका छन्।
मन्त्री पाण्डेले बुधबार महासचिव पाण्डे नेतृत्वको प्रतिनिधि मण्डलसँग पर्यटन मन्त्रालयमा भेटेका हुन्।
भेटमा बिमस्टेक देशहरूबीचको भिसा सहजीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटहरूमा पर्यटन पूर्वाधारको विकास लगायतका विषयमा छलफल भएको छ।
साथै भेटमा मन्त्री पाण्डेले बिमस्टेक टुरिजम फण्डलाई वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गरे।
उनले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउने पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनका लागि बिमस्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरूबीचको आवद्धता तथा आपसी आदान प्रदान लगायका विषयमा जोड दिए।
मन्त्री पाण्डेले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालय सक्रिय नभएकै कारण सार्क निष्क्रिय रहेको उल्लेख गर्दै बिमस्टेक सचिवालयलाई सक्रिय र प्रभावकारी बनाउन आग्रह गरे।
साथै बिमस्टेक सचिवालयको नेतृत्वको सफल र प्रगतिशील रहोस् भन्दै मन्त्री पाण्डेले राजनीतिक तह र मन्त्रालयगत तहबाट हुने द्विपक्षीय भेटवार्ताले सम्बन्ध मजबुद हुने विश्वास समेत व्यक्त गरे।
बिमस्टेक महासचिव इन्द्रमणि पाण्डेले बिमस्टेकको महत्वपूर्ण एजेण्डा कनेक्टिभिटी भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
उनले बिमस्टेकको आगामी शिखर सम्मेलनमा नेपालको पर्यटन लगायतका सम्भावित क्षेत्रको बारेमा संस्थागत रूपमा कुरा उठाउने समेत विश्वास व्यक्त गरे।