पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ कार्यक्रमको आयोजना गरेका छन्।
विभिन्न मुलुकमा स्काई डाइभिङको अनुभव बटुलेर फर्किएका युवाहरूद्वारा स्काई डाइभिङ कार्यक्रम भइरहेको सिम्रिक एयरका महाप्रबन्धक मुरली धर जोशीले जानकारी दिए।
सिम्रिक एयरले सन् २०१७ देखि नै पोखरामा विभिन्न समयमा स्काई डाइभिङ गर्दै आइरहेको छ। उनका अनुसार यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउने गरेका थिए।
अब भने नेपाली प्रशिक्षकले नै स्काई डाइभिङ गराउने भएका छन्। कम्पनीले अंग्रेजी नयाँ वर्षका लागि कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। तर उडान अनुमति ढिला पाएपछि अहिले कार्यक्रमको आयोजना गर्न लागिएको महाप्रबन्धक जोशी बताउँछन्।
'हामीले नयाँ वर्षलाई लक्षित गरेका थियौं तर त्यतिबेला उडान अनुमति पाइएन,' उनले भने, 'त्यसैले १० देखि २१ जनवरीसम्म कार्यक्रम आयोजना गर्दैछौं।'
यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइटा प्याकेज बनाएको छ। जसमा भिआइपीको एक लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्नेछ।
उनका अनुसार यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित स्काई डाइभिङ पनि गर्नेछ।