संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकटको मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मंगलबार उनले त्यसका लागि नेपालकाे आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।
'हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौं,' मन्त्री पाण्डेले भने।
मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाकाे अवधिसहित निर्देशन दिएकाे समेत जानकारी दिए।