जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लामा हेलिकप्टर उडानमा अवरोध गर्ने–गराउनेहरुमाथि प्रचलित कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरले सोमबार सार्वजनिक सूचना जारी गरेर यस्तो चेतावनी दिएका हुन्।
‘केही दिनदेखि सोलुखुम्बु जिल्लामा रहेका विभिन्न हेलिप्याडहरुमा अनाधिकृत व्यक्तिहरुले हेलिकप्टरको आवागमन (उडान) मा अवरोध पुऱ्याएको भनि विभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रजिअ घिमिरेले जारी गरेको सूचनामा भनिएको छ, ‘नियमअनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्दार, पर्यटन प्रवर्द्धन लगायतमा समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकप्टर उडानमा वाधा अवरोध गर्ने गराउनेलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत सरोकारवाला सबैलाई जानकारी गराइन्छ।’
हेलिकप्टर कम्पनीहरूले जनवरी १ यता सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान स्थगन गरेका छन्। प्रजिअ घिमिरेका अनुसार हेकिप्टर उडानमा अवरोध भएपछि रोकिएको सेवाका कारण जनजीवन प्रभावित बनेको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, पासाङल्हामु गाउँपालिकाका स्थानीय र हेलिकप्टर सञ्चालकहरूबीच भएको करिब एक महिना लामो वार्ता नमिलेपछि उनीहरूले तत्कालको लागि उडान स्थगित गर्ने निर्णय लिएको बताएका छन्।
पर्यटकीय गन्तव्यका रहेको यो क्षेत्रमा हेलिकप्टर कम्पनीहरूले रेस्क्यू, कार्गो ढुवानी, माउन्टेन र व्यवसायिक उडान लगायतका सेवा दिँदै आइरहेका थिए। अब भने यी सबै सेवा बन्द गरेको कम्पनीहरूले जनाएका छन्।
वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको बताएको हो।
राष्ट्रिय निकुञ्ज र पासाङल्हामु गाउँपालिकाका स्थानीयहरूले अवरोध गरेकाले उडान रोकिएको हो। हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान आजबाटै स्थगन गरिएको संघका प्रथम उपाध्यक्ष प्रताप जंघ पाण्डेले जानकारी दिए।
‘स्थानीयबासीका नाममा जोकोहीलेृ हेलिकप्टर उडानमा अवरोध पुर्याए कारवाही हुनेछ’, प्रजिअ घिमिरेले भनेका छन्।
स्थानीयबासीले चार वटा माग राखेर हेलिप्याडहरुमा अवरोध पुर्याइरहेका हुन्। उनीहरुले रेस्क्यू उडान सामान ढुवानी कार्गो फ्लाइट, माउन्टेन फ्लाइट र चौथोमा व्यवसायिक उडानका विषय अघि सारेर अवरोध गरिरहेका हुन्।
पढ्नुस्ः
किन रोकियो सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलिकप्टर उडान?