पर्यटनसँग सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नति सहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन सम्बद्ध विभिन्न संघ संस्थाले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नति सहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका हुन्।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएकोमा समेत मन्त्री पाण्डेलाई धन्यवाद व्यक्त गरेका छन्।
यो विधेयक संसदले पास गरे युरोपबाट नेपालमा पर्यटनकको वृद्धि हुने उनले बताए।
पर्यटनको विकासका लागि पर्यटन बोर्डमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न पनि सुझाव दिएका छन्।
यस्तै लुक्लामा हेलिकप्टर उडानमा भएको समस्याले समेत पर्यटनमा समस्या हुने भनाइ छ।
छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नितिगत सुधारमा सहयोग गर्न समेत आग्रह गरे।
हरेक महिना यस्ता छलफल गर्ने समेत सहमति भएको छ।