सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले दिएको निर्देशन अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले काम नगरेको भन्दै असन्तुष्टी पोखेका छन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरेको सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरूङले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको कार्ययोजना र कार्यविधि बनाउन निर्देशन दिए पनि प्राधिकरणले अहिलेसम्म नबनाएको बताएका हुन्।
‘नेपाल नागरिक उड्यन प्राधिकरणले आफू मातहतको अन्तर्राष्ट्रिय विमानस्थल कसरी चलाउने भनेर कार्यविधि बनाउन पर्छ कि पर्दैन? योजना बनाउन पर्छ कि पर्दैन,’ उनले भने, ‘सरकारले कार्ययोजना बनाउन निर्देशन दिइसक्यौं, अहिलेसम्म बनाएको देखिँदैन।’
मन्त्री गुरुङले यी दुई विमानस्थल चलाउन सरकारले २० बुँदे कार्ययोजना पारित गरेको पनि बताए।
यी दुइटा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीलाई विभिन्न छुट र सहुलियत दिने गरी उक्त कार्ययोजना पारित भएको थियो। कार्ययोजना बने पनि पोखरा र भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
यी दुइवटै विमानस्थल संचालनका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूले पहल र प्रयत्न गरिराखेको पनि उनले बताए।
‘पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले गर्नुपर्ने कामका लागि म प्रयत्न गर्छु। सरकारले विशेष निर्णय लिने काम हुन्छ भनेर विश्वास दिलाउने काम गर्छु,’ उनले भने।
आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला एयरलाइन्स अपरेटरहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले विमान कम्पनीहरुलाई पोखरा र भैरहवाबाट यात्रु पाइँदैन कि भन्ने चिन्ता रहेको बताए।
पोखरा र भैरहवाबाट विदेश पढ्न जाने र काम गर्न जाने यात्रु लैजान सक्ने भन्दै उनले यी दुइटा विमानस्थल संचालनमा आए पर्यटकलाई पनि सजिलो पर्ने बताए।
२०६४ सालमा आफू पर्यटनमन्त्री भएको बेला पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नीतिगत निर्णय गरेर चीनसँग छलफल गरेको र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एसियाली बिकास बैंक (एडिबी)को ऋण सहयोगमा बनाउन नीतिगत निर्णय गरेको उनले दाबी गरे।
अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न गृह मन्त्रालयले अध्यागमन विभागको कार्यालय खोलेर भिसा सम्बन्धी सम्पूर्ण काम गर्न, अर्थ मन्त्रालयले भन्सारको काम गर्न र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्बन्धी काम गर्न कार्यालय खोल्न पनि सरकारले निर्देशन दिइसकेको उनले बताए।
‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा झरेका पर्यटक भिसा लगाउन काठमाडौं जाने कुरा आउँदैन, कामदार श्रम स्विकृती लिन काठमाडौं जाने अनि पोखराबाट उड्ने कुरा हुँदैन,’ उनले भने, ‘सरकारले दिनुपर्ने सम्पूर्ण सुविधा पोखरा र भैरहवाबाट होस् भनेर सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेका छौं।’