आँखाले भ्याइन्जेलसम्म बादल देखिन्छ, त्यसपछि हिमालका मनमोहक दृश्य। बादल चिरेर निस्किएजस्तै देखिन्छ सूर्योदय।
त्यही सूर्योदय हेर्न सयौंको संख्यामा एकाबिहानै मानुङकोट पुग्छन् आन्तरिकदेखि बाह्य पर्यटकहरू।
डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ मानुङकोटमा।
डाँडाबाट बादलकै समुद्रजस्तो देखिन्छ। मौसम खुलेपछि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमशृंखला नियाल्न सकिन्छ।
मानुङकोटबाटै दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।
काठमाडौंबाट १६० किलो मिटर र पोखरा देखि ५५ किलोमिटर टाढा छ मानुङकोट। तनहुँ सदरमुकाम दमौलीदेखि कतै कालोपत्रे त कतै कच्ची सडकको १० किलोमिटर पार गरेपछि सहज रूपमा पुग्न सकिन्छ।
स्कुटर, मोटरसाइकल, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रीले भने दमौलीदेखि करिब १ घण्टा हिँड्नु पर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको त्यहाँका व्यवसायीहरू बताउँछन्।
खानेपानीको अभावमा विसं २०५२ ताका त्यहाँका स्थानीय वसाईं सरेर अन्यत्र गएका थिए। अहिले पनि खानेपानीको दुःख नै छ। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।
मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। अहिले त्यहा बस्न र खान को लागि प्रशस्त होटेल र खाजा घर समेत खुलिसकेका छन्।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।