बिबिसी मास्टरसेफ सन्तोष साहले बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी हस्पिटालिटीसम्बन्धी निःशुल्क तालिम दिने अभियान गरेका छन्।
काठमाडौंका ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट)को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटसँगको सहकार्यमा साहले उक्त अभियान सुरू गरेका हुन्।
यसका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले हातेमालो गरेका थिए।
मास्टरसेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए।
'यो केबल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवर्द्धन गर्ने विषय पनि हो,' मास्टरसेफ साहले भने, 'सही मागदर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन्। यो केबल सुरुवात हो, हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ।'
बोल्न र सुन्न नसक्नेहरूलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको सेफ साहले जानकारी दिए। साहले अपाङ्गता भएकाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरू गरिएको बताए।
'यो हाम्रो पहिले देखिको योजना हो, जसअन्तर्गत पहिलो चरणअन्तर्गत तालिम प्राप्त जनशक्तिको आइतबार ग्रयाजुएसन भएको छ,' उनले भने, 'तालिमप्राप्त दक्ष जनशक्तिलाई रोजगारीका पनि सुनिश्चिता पनि गर्छौ।'
उनका अनुसार बारिस्ता तालिम, हाउस किपिङ र बेकरी सञ्चालनलगायतका होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सीप हासिल गरेका ३१ जना सहभागी थिए।
सन् २०२४ को सुरुवातदेखि विभिन्न चरणमा गरी ३९० घण्टाको प्रशिक्षण प्राप्त श्रवण शक्ति कमजोर भएका युवालाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो। साहको सक्रियतामा यसअघि पनि जनकपुरस्थित मिथिला थालीमार्फत पनि यसप्रकारका कार्यक्रम हुँदै आएको उनले बताए।
त्यस अवसरमा गेट पोलिटेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले सुरूमा आफूहरूसँग दोभाषे नभए पनि अहिले भने सजिलो भएको बताए।
उनका अनुसार सन् २०२४ मा युनिसेफको सहकार्यमा ६ जना श्रवण शक्ति कमजोर भएका युवालाई प्रशिक्षण दिन सुरू भए पनि कार्यक्रमले सफलता पाएसँगै कार्यक्रम विस्तार गरी वर्षको अन्त्यसम्म ३१ जनालाई निःशुल्क तालिम प्रदान गरिएको हो।
तालिममा सहभागी अनिल कुमार हमालले तालिमपछि सोही होटलमा रोजगारी पाएको बताए।
उनले भने, 'भाषाका कारण सञ्चार आदानप्रदानमा अझै केही कठिनाइ छ, तर मैले पाएको सीपले नयाँ ढोका खोलिदिएको छ।'
गेट कलेज समूहका संस्थापक तथा प्रमुख कार्यकारी खेम लकाईले यस कार्यक्रमको पछाडिको फराकिलो उद्देश्यलाई जोड दिए।
'हामीले १८ वर्षअघि नेपालमा आतिथ्य शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शैक्षिक प्रतिष्ठान स्थापना गर्ने लक्ष्य राखेका थियौं। आज, हाम्रो दृष्टिकोणलाई समावेशी बनाउँदै,' उनले भने, 'यस्तो सीप विकास अभियानलाई अगाडि बढाउँदैछौं यो दीर्घकालीन प्रतिबद्धताको सुरूवात हो।'
गेट कलेज समूहका संस्थापक लकाईले अपाङ्गता भएका व्यक्तिहरू लगायत सीमान्तकृत समूहहरूको सशक्तिकरणप्रति संस्थाको लामो समयदेखिको प्रतिबद्धता दोहोर्याए।
यो अभियानमा राष्ट्रिय बहिरा महासंघ, गण्डकी बहिरा संघलगायत विभिन्न सरोकारवाला निकायको प्रत्यक्ष सहभागिता थियो।