विदेशी वायुसेवाहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान रोकेका छन्।
कम भिजिबिलिटीका कारण अवतरणमा समस्या भएको भन्दै तीन वटा वायुसेवाले तत्कालका लागि उडान रोकेका हुन्।
विमानस्थल कार्यालयकाअनुसार अहिले कतार एयरवेज, जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले उडान रोकेका छन्। कम भिजिबिलिटीका कारण जहाज अवतरणमा ढिलो हुने भएकाले यी वायुसेवाले केही समयका लागि उडान रोकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार चार वायुसेवामध्ये जजिरा, फ्लाई दुबई र थाइ एयर एसियाले एक महिनापछि बाट फेरि नियमित उडान गर्ने छन्।
'भिजिबिलिटी कम हुँदा अवतरणमा समस्या भयो भने पछि त्यहीअनसार उडान तालिका सारिएको हो,' उनले भने, 'एक महिनापछि नियमित उडान गर्ने गरी प्राधिकरणले अनुमति स्वीकृत गरिसकेको छ। अहिले चारै वायुसेवाले उडान रोकेका छन्।'
उनका अनुसार फ्लाई दुबईले डिसेम्बर १५ देखि जनवरी १२ सम्मका लागि उडान रोकेको छ। त्यस्तै, जजिराले डिसेम्बर १४ देखि जनवरी ३० सम्मका लागि उडान बन्द गरेको छ। त्यस्तै, थाइ एयर एसियाले एक सातादेखि उडान रोकेको छ। यी वायुसेवाले केही समयका लागि मात्र उडान रोकेको र फेरि नियमित गर्ने तयारी गरेको भुल बताउँछन्।
फ्लाई दुबईको जनवरी १३, जजिराको जनवरी ३१ देखि र थाइको यही डिसेम्बर २६ देखि नियमित उडान गर्ने गरी प्राधिकरणले अनुमति स्वीकृत गरिसकेको उनले बताए। एक महिनापछि हुने नियमित उडानका लागि यी वायुसेवाले अहिले टिकट बिक्री समेत खुला गरिसकेका छन्।
हाल यो विमानस्थलमा वायुसेवा निगमको जहाजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। निगमले हाल काठमाडौं- भैरहवा-दुबई सातामा दुई उडान गरिरहेको छ। यसअघि यही गन्तव्यका लागि निगमले सातामा चार वटासम्म उडान गरेको थियो। अहिले निगमले पनि उडान संख्या घटाएको छ।
यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 'ट्याक्सी वे' निर्माणका लागि १० घण्टा बन्द भएपछि पाँच वटा कम्पनीले भैरहवातर्फ उडान सुरू गरेका थिए। कात्तिकदेखि कतार, थाई एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका हुन्।
कतार एयरवेजले नोभेम्बर ३० देखि नै भैरहवाबाट उडान स्थगन गरिसकेको छ।
गत कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यावसायिक उडान गरेको थियो। कतारले १९ दिनसम्म नियमित उडान/अवतरण गरेपछि उडान नै स्थगित गर्यो।
'कतारले पहिल्यै नोभेम्बर ३० सम्मका लागि मात्र उडान अनुमति लिएको थियो। त्यसैले उसले त्यही दिनसम्म उडान गर्यो,' सूचना अधिकारी भुलले भने, 'फेरि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएको भए पनि एयरवेजले उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको थियो।'
त्यसयता कतारले काठमाडौंमा मात्र उडान गरिरहेको छ। अनुमतिको अवधि सकिएपछि प्राधिकरणले प्रस्ताव पेस गर्न भने पनि चासो नदेखाएको उनले बताए।
'काठमाडौंमा दुई वटा उडान गरिरहेको छ तर भैरहवाका लागि चासो नदिएको जस्तो देखिएको छ,' भुलले भने।
उनका अनुसार प्राधिकरणले अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटीमा पनि नियमित उडान गर्न मिल्ने संयन्त्रको तयारी गरिरहेको छ।
प्राधिकरणले नियमित उडानका लागि 'आरएनपिएआर सिस्टम' अर्थात् भू-उपग्रह प्रणालीको जडान थालेको छ। 'आरएनपिएआर' रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइरेजशन रिक्वायर्ड हो।
आगामी जनवरी २३ अर्थात् माघ १० बाट सुरू गर्ने तयारी गरेको पनि भुलले जानकारी दिए। उनका अनुसार यो प्रविधि जडान गरेपछि साना जहाजलाई आठ सय र ठूला जहाजलाई ९ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छ।
'यसबारे पनि वायुसेवा कम्पनीहरूलाई जानकारी दिइसकेको छ। वायुसेवा कम्पनीहरूले पनि त्यही अनुसार गृहकार्य गरिरहेका छन्,' भुलले थप भने, 'यसपछि सबै वायुसेवाले नियमित उडान थाल्नेछन्।'
यो विमानस्थलबाट एक महिनाको अवधिमा चार हजार सात सय ७१ यात्रुले सेवा लिएका थिए।
जसमा दुई हजार दुई सय ३८ यात्रु विदेश जाँदा दुई हजार पाँच सय ३३ यात्रु अवतरण गरेका थिए। कुल एक सय ५६ उडान/अवतरण भएका थिए। एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ।
जजिराले तीन हजार ३४, फ्लाई दुबईले एक हजार १३२, थाई एयर एसियाले चार सय ४७, कतारले ९३ र नेपाल एयरलायन्सले ३९ यात्रु बोकेका थिए।