नेपाली पर्यटन व्यवसायीका लागि ६ महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा उक्त तालिम आयोजना गरिएको थियो।
नेपालका पर्यटन व्यवसायीहरूलाई चिनियाँ पर्यटकहरूसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो।
यस वर्षको कार्यक्रममा जम्मा एक सय जना सहभागी भर्ना भएका थिए। जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्डअनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्।
प्रशिक्षित सहभागीहरू अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको बढ्दो चापलाई सम्बोधन गर्न सक्षम भएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले कार्यक्रममा बोल्दै भाषा दक्षताको महत्त्वलाई जोड दिए।
'भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार हो यसखाले कार्यक्रमहरूले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्याउँछ,' उनले भने।
त्यस्तै चिनियाँ नियोग उपप्रमुख सिनले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई यो कार्यक्रमले अझ सुदृढ बनाउने बताए।
कार्यक्रमको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐयर, चिनियाँ दूतावासका मिशन उपप्रमुख वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिशचन्द्र शाह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।