सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि राति पनि उडान हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ। त्यसैले कम भिजिबिलिटी हुँदा र राति पनि उडान गर्न सकिन्छ।
गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागितामा यहाँ गरिएको परीक्षण उडान सफल भएको थियो।
यसअघि राजविराज विमानस्थलमा भिजुअल फ्लाइट रूल (भिएफआर) उडान मात्र हुन्थ्यो। आइएफआर प्रणाली भएपछि अब भने दुई हजार मिटरको भिजिबिलिटी र रात्रिकालीन समयमा पनि उडान/अवतरण हुनेछ।
सामान्यतया विमानस्थलहरूमा दुई प्रणालीमा उडान/अवतरण हुन्छन्; भिएफआर र आइएफआर।
यी दुई नियमको प्रमुख फरक भनेको, भिएफआर अन्तर्गत पाइलटले आफै ककपिटबाट अगाडि हेरेर उडान/अवतरण नियमन गर्छन् भने आइएफआरमा यन्त्रको सहायताबाट नियमन हुन्छ।
भिएफआरमा पाइलटले ककपिटमा बसेर आँखाले हेर्दै विमान/हेलिकप्टर उडाउनुपर्ने भएकाले भिजिबिलिटी महत्त्वपूर्ण मानिन्छ।
यस्तो उडानका लागि पाँच हजार मिटरभन्दा बढीको भिजिबिलिटी चाहिन्छ। अर्थात् कम्तीमा पाँच किलोमिटर दुरी प्रस्ट देखिने हुनुपर्छ। त्यस्तै दायाँ र बायाँको भाग कुहिरोबाट कम्तीमा एक हजार पाँच सय किलोमिटर टाढा हुनुपर्छ। तल र माथि भने तीन सय मिटर टाढा हुनुपर्छ।
यति मापदण्ड नभएको अवस्थामा भिएफआर उडान हुँदैन।
आइएफआर उडान भने यन्त्र र उपकरणको माध्यमबाट हुने भएकाले थोरै भिजिबिलिटी भए पुग्छ।
आइएफआर अन्तर्गत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय मिटर भिजिबिलिटीमा साना जहाज उड्न पाउँछन्। एक हजार ६ सय मिटर भिजिबिलिटी हुँदा त ठूला जहाज नै उड्छन्।
राजविराजमा आइएफआर उडान सुरू भएसँगै यहाँ कम भिजिबिलिटीका कारण उडान ढिलो वा रद्द हुने समस्या कम हुने विश्वास प्राधिकरणको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सोमबार आइएफआर उडान उद्घाटन गर्दै भने, 'छायामा परेको राजविराज अब दिउँसो मात्र होइन, राती पनि चल्छ। राजविराजबाट काठमाडौं मात्र नभइ अन्य सहरमा पनि उडान गर्नुपर्छ।'
त्यस्तै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, 'रात पर्यो, अब उडान हुँदैन कि भन्ने डर छैन। बिहान काठमाडौं गएर राती राजविराज आइपुग्ने अवस्था भएको छ।'
राजविराजमा सुरू भएसँगै अब रात्रिकालीन उडान हुने विमानस्थलको संख्या दस पुगेको छ। यसअघि तीन अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी र विराटनगरमा रात्रिकालीन उडान हुँदै आएको थियो।