दोलखामा पर्यटन प्रवर्द्धन गर्न जाऔं है च्योर्दोङ अभियान सुरू भएको छ।
च्योर्दोङ समुद्र सतहदेखि ३,७०० मिटर उचाइँको एक रमणीय हिलस्टेसन हो। धार्मिक, सांस्कृतिक, र प्राकृतिक महत्त्वले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरू गरिएको छ। जिरीमा जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान शुभारम्भ गरिएको हो।
‘जाऔं है च्योर्दोङ’ अभियान अन्तर्गत मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा सम्पन्न भयो। अभियानमा पत्रकार, पर्यटन व्यवसायी, समाजसेवी, र साहसिक खेलका प्रतिनिधिहरू, स्थानीय युवाहरूको सहभागी भएका थिए।
अभियानको क्रममा ३६ जनाको जम्बो टोलीले च्योर्दोङ डाँडामा पदयात्रा गरेर साँझ त्यहीँ क्याम्पिङ गरेका थिए। नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन गरेका थिए।
यस अभियानका लागि लेखक, पत्रकार, फोटोग्राफर, साइक्लिस्ट, र स्थानीय व्यवसायीहरू सम्मिलित ३६ जनाको समूहले मंगलबार जिरीबाट च्योर्दोङ डाँडासम्म यात्रा गरेको छ।
च्योर्दोङ डाँडामा च्योर्दोङेश्वर महादेवको बास छ। यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मन्त्र मुग्ध बनाउछ, मन आन्दित बनाउँछ, सबै थकान मेटाउँछ।
च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ। यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ, र हरेकले आ-आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ।
हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ। यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ।
च्योर्दुङ हिन्दू र बौद्ध संस्कृतिहरूको अद्वितीय मिलनको प्रतीक हो, जहाँ प्रकृति, अध्यात्म, र परम्परा एकअर्कासँग जोडिएका छन्। च्योर्दोङको पर्यटन सम्भावना र प्रचार अभियान च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियान संयोजक लिलाराम खड्काले भने, ‘हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔं है च्योर्दोङ’ अभियान सुरू गरेका हौं। साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौं।’
काठमाडौं–जिरी १८८ किमी। काठमाडौंबाट जिरीसम्म गाडीमा ६ घण्टा लाग्छ। जिरीबाट जिपमा १:५ घण्टा जिप यात्रामा क्याङ्सी। क्याङ्सीबाट ३ घण्टा पदयात्रामा च्योर्दोङ। साथै जिरी बजारबाट हिँडेर ५ घण्टा लाग्छ।
तस्बिरहरू: