नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावास काठमाडौंको आयोजनामा मंसिर २४ गते (१० डिसेम्बर २०२४)पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न भएको छ।
सो अवसरमा भारतको उत्तर प्रदेशको प्रयागराजमा २०२५ मा आयोजना हुने महाकुम्भ २०२५ को प्रवर्द्धन र नेपाल भारत सर्किट पर्यटनको कार्यान्वयनलाई बढावा दिन बिटुबी सेसनहरू आयोजना गरिएको थियो।
सो अवसरमा भारतका १३ प्रतिनिधि र नेपालका एक सय २० जना टुर अपरेटरहरूको सहभागिता थियो।
बिटुबी तथा समापन समारोहमा विशेषगरी स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो।
दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवै पक्षका आगन्तुकहरूको लागि सम्भावित यात्रा योजनाहरूबारे छलफल गरेका थिए।
मार्ट समापनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले सीमापार पर्यटन तथा स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूमा भारतीय पर्यटकको ठूलो योगदान रहेको बताए।
उनले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रको निरन्तरताको लागि आग्रह गरे।
सोही अवसरमा भारतीय दुतावासका चार्ज डे एफिएर्स प्रसन्न श्रीवास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिपथको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताए।
उनले यसबाट भारत र नेपाल बीचको पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरे।
यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत भारत भएको उल्लेख गर्दै पर्यटन बोर्डले समेत नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहल तथा प्याकेज तयार गर्ने गरेको जानकारी दिए।
त्यस्तै उत्तर प्रदेश सरकारका पर्यटन अधिकारी सुश्री कीर्तिले महाकुंभ २०२५ का बारेमा जानकारी दिइन्।
कार्यक्रममका अवसरमा इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आइसिसिआर)का कलाकारले भारतीय नृत्य प्रस्तुत गरेका थिए।