भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन वायुसेवा कम्पनीले तत्काल उडान गर्न रोक्न प्राधिकरणलाई पत्र पठाएका छन्।
मौसमका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा उडानमा समस्या भएको भन्दै फ्लाइ दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले तत्काल उडान गर्न नसक्ने बताएका हुन्।
जाडोयाम लागेसँगै भैरहवाको मौसम समयमै नखुल्ने र भिजिबिलिटी कम हुँदा उडान अवतरणमा समस्या भएकाले केही समयका लागि उडान रोक्न वायुसेवाले पत्र पठाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तत्काल उडान नरोक्न र समय तालिका परिवर्तन गरेरै भए पनि उडान गर्न अनुरोध गरिरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
‘अहिलेको मौसम र समय हेरेर उडान गर्नुस् उडान सार्न मिल्छ तर उडान नरोक्नुस् भनेर प्राधिकरणले भनिरहेको छ,’ उनले भने, ‘कुनै पनि वायुसेवाले उडान स्थगन गर्न मागेको अनुमति प्राधिकरणले स्वीकृत गरेको छैन।’
यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका लागि १० घण्टा बन्द भएपछि पाँच वटा कम्पनीले भैरहवातर्फ उडान सुरू गरेका थिए। कात्तिकदेखि कतार, थाई एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका हुन्।
कतार एयरवेजले भने केही दिनअघि नै भैरहवाबाट उडान स्थगन गरिसकेको छ।
गत कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यावसायिक उडान गरेको थियो। कतारले १९ दिनसम्म नियमित उडान/अवतरण गरेपछि उडान नै स्थगित गर्यो।
‘कतारले पहिल्यै नोभेम्बर ३० सम्मका लागि मात्र उडान अनुमति लिएको थियो। त्यसैले उसले त्यही दिनसम्म उडान गर्यो,’ सूचना अधिकारी भुलले भने, ‘फेरि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएको भए पनि एयरवेजले उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जबाफ पठाएको थियो।’
त्यसयता कतारले काठमाडौंमा मात्र उडान गरिरहेको छ। अनुमतिको अवधि सकिएपछि प्राधिकरणले प्रस्ताव पेस गर्न भने पनि चासो नदेखाएको उनले बताए।
‘काठमाडौंमा दुई वटा उडान गरिरहेको छ तर भैरहवाका लागि चासो नदिएको जस्तो देखिएको छ,’ भुलले भने।
उता भैरहवामा नियमित उडान गरिरहेका फ्लाइ दुबई, थाइ एयर एसिया र जजिरा एयरवेजले भने अहिलेको मौसममा उडान गर्न नसक्ने बताएका हुन्। यसमध्ये जजिराले जनवरीमा उडान नगर्ने गरी प्राधिकरणलाई पहिल्यै जानकारी दिएको थियो। विगतमा पनि जजिराले भिजिबिलिटी कम भएको भन्दै यही समयमा उडान स्थगन गरेको थियो।
भुलका अुसार फ्लाइ दुबई र थाइ एयर एसियाले भने २०२५ को मार्च ३१ सम्म भैरहवामा उडान गर्ने गरी प्राधिकरणसँग अनुमति लिएका छन्।
तर, केही दिनदेखि विमानस्थलको मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले उडान ‘होल्ड’ र ‘डाइभर्ट’ हुने भएकाले अपरेटिङ कस्ट बढेको र यात्रु संख्या पनि कम भएका समस्या देखाएको भुलले बताए।
उनका अनुसार दुबै एयरलाइन्सले केही समयका लागि उडान रोक्ने र जनवरीको अन्तिमबाट पुन: उडान थाल्ने भन्दै प्राधिकरणमा पत्र पठाएका छन्। यसलाई प्राधिकरणले स्वीकृत भने गरेको छैन।
सामान्यत: एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि न्यूनतम एक हजार आठ सय मिटर भिजिबिलिटी चाहिन्छ। तर विमानस्थलको भिजिबिलिटी बिहानको १२ बजेसम्म एक हजार मिटर मात्र छ।
प्राधिकरणले नियमित उडानका लागि ‘आरएनपिएआर सिस्टम’ जनवरी ३० बाट सुरू गर्ने तयारी गरेको पनि भुलले जानकारी दिए।उनका अनुसार यो प्रविधि जडान गरेपछि आठ सय भिजिबिलिटी हुँदा पनि उडान गर्न सकिन्छ।
'आरएनपिएआर' रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइरेजशन रिक्वायर्ड हो। यो भनेको स्याटेलाइट बेस नेभिगेसन प्रणाली हो।
'यसबारे पनि वायुसेवा कम्पनीहरूलाई जानकारी दिइसकेको छ। वायुसेवा कम्पनीहरूले पनि त्यही अनुसार गृहकार्य गरिरहेका छन्,' भुलले भने, 'उडान नरोक्नुस् भन्ने हाम्रो आग्रह हो।'
यो विमानस्थलबाट एक महिनाको अवधिमा चार हजार सात सय ७१ यात्रुले सेवा लिएका थिए।
जसमा दुई हजार दुई सय ३८ यात्रु विदेश जाँदा दुई हजार पाँच सय ३३ यात्रु अवतरण गरेका थिए। कुल एक सय ५६ उडान/अवतरण भएका थिए। एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ।
जजिराले तीन हजार ३४, फ्लाई दुबईले एक हजार १३२, थाई एयर एसियाले चार सय ४७, कतारले ९३ र नेपाल एयरलायन्सले ३९ यात्रु बोकेका थिए।