संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नु परेका समस्याको समाधान गर्न आफू लागिपरेको बताएका छन्।
कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिबारे सरकार र नीजि क्षेत्रबीचको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
'सडकमार्गका पूर्वाधारहरू समेत सहज बनाउन पर्ने देखिन्छ। प्रत्येक पर्यटकले हवाई र सडक यातायातबाट सास्ती व्यहोर्नु पर्ने समस्याको अन्त्य हुनुपर्छ,' उनले भने।
सम्बोधनका क्रममा उनले हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्याको पहिचान गरी त्यसको समाधानका लागि अन्तरमन्त्रालय छलफल भइरहेको बताए।
विविधता पूर्ण संस्कृति र प्राकृतिक विविधताका दृष्टिकोणले समेत भरिपूर्ण रहेको स्मरण गर्दै उनले सुदूरपश्चिम देवहरूको भूमि रहेकाले यहाँको महत्व निकै बढेको समेत बताए।
मन्त्री पाण्डेले सुदूरपश्चिम जल, जंगल र जडीबुटी लगायतका पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै माथि रहेको समेत प्रष्ट पारे।
उनले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै सुदूरपश्चिमलाई कैलाश मानसरोवरसम्म जोड्न सके फाइदा पुग्ने बताए।
उनले धार्मिक,पर्यटकीय दृष्टिकोणले भारतीय पर्यटक भित्र्याउन सकेको अवस्थामा मात्रै ठूलो लाभ लिन सकिने विश्वास व्यक्त गरे।
साथै मन्त्री पाण्डेले बर्दीयाको ठाकुरदारमा आगामी दिनमा हुने विषयगत समितिको बैठकमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत सहभागी हुन आह्वान गरे।