बुद्ध एयरले शुक्रबार १९ औं एटिआर जहाज भित्र्याएको छ।
नयाँ आएको जहाज एटिआर–७२ हो। यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
बुद्ध एयरले कल साइन एननाइन एओजी जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको हो।
बुद्ध एयरसँग ३ वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज छन्।
बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो। उक्त जहाजको डिरजिष्ट्रेसन प्रक्रियामा रहेको छ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरू आफ्नो समय अनुकूल उडान भर्न सक्ने बताए।
'हामी उडान तालिकालाई प्रभावकारिताका साथ सञ्चालन गर्न प्रतिबद्ध रहेका छौं,' उनले भने।
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ।
अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि गरिरहेको छ।